INSEC Online

📅 २०८३ जेष्ठ २१

कांग्रेसका पार्टी सभापतिद्वारा शिक्षा कार्यालयका कर्मचारी माथि कुटपिट

सर्केगाड गाउँपालिका– ५ गोठी घर भई हाल जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा कार्यरत ४२ वर्षीय कालिबहादुर छत्याललाई नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति सिमकोट गाउँपालिका–५ का ५२ वर्षीय जयपति रोकायाले कुटपिट गरेको पीडित पक्षले आरोप लगएको छ ।

असार २७ गते दिउँसो १२ बजेको समयमा आफ्नो कार्यालयको लेखापढीको काममा व्यस्त रहेका छत्याललाई एक्कासी सो कार्यालयमा आएर सर्केगाड गाउँपालिका–४ सायाँ घर भई हाल चङ्खेली गाउँपालिकाको रारा प्राविमा कार्यरत शिक्षक दन्त साउदको सरुवाको विषयलाई लिएर पार्टी सभापति रोकायाले हातपात गरेको छत्यालले आरोप लगाए ।

उक्त शिक्षक साउदले आफ्नै पायक पर्ने शारादा प्रावि सर्केगाडमा सरुवा मागेपछि सो विद्यालयमा शिक्षक कोटा खाली नभएको र त्यस विषयमा आफ्नो केही नलाग्ने भन्दै शिक्षा विकास तथा समन्वय एकाई कार्यालयले शिक्षक साउदलाई चङ्खेली गाउँपालिकाको गौरी शङ्कर प्राविमा सरूवा गरेको हुँदा आफूले मागेको विद्यालयमा सरूवा नगरेको दबाबमा पार्टी सभापतिलाई जिस्काएर कुटपिट गराएको सो कार्यालयको काजमा रहेका शिक्षक छत्यालको आरोप छ ।

सो कार्यालयमा हातपात भए लगत्तै शिक्षक छत्यालले असार २७ गते नै जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरी गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने हातपात भएकै हो भने पीडितले लिखित उजुरी दिनुपर्ने बताए ।

त्यस्तै आफू खाना खान आएको बेला घटना भएको हो राम्रोसँग जानकारी नभएको एकाई प्रमुख वर्ष फडेराको भनाई छ ।

‘पार्टी सभापति रोकायाले छातिमा हातले हानेकै हो । हातपात हुने समयमा सोही कार्यालयमा थिएँ ।’–राससका (पत्रकार) जिल्ला सम्वाददाता हरिबहादुर रावतले भने ।

अन्य

भिडियो