शुद्धोधन गाँउपालिका–६ की ४५ वर्षीया सुमित्रा चाई र उनकी २५ वर्षीया बुहारी रिता चाइलाई सोही गाँउका जमिन्दार ५० वर्षीय बन्केशर यादव र ५२ वर्षीय सुवदार कुर्मीले पटकपटक कुटपिट गरेको र प्रहरीले उजुरी दर्ता नगरेको पीडितद्वयले आरोप लगाएका छन् ।
पीडितद्वयलाई एक महिनादेखि आरोपितले पटक पटक कुटपिट गर्दै आएको र पछिल्लो पटक असार १२ गते कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरीदिएको भएपनि प्रहरीले लिन नमानेको पीडित पक्षको आरोप छ ।
शुद्धोधन गाउँपालिका–६की तारामति केवटले धर्मपुत्रीको रूपमा पालन पोषण गरेको र उनको मृत्युपछि हकभोग गर्दै आएको १३ कठ्ठा जमिन जमिनदार बन्केशर यादव र सुवदार कुर्मीले जबरजस्ती कब्जा गरी महिलाहरूलाई हटाउन कुटपिट गरेका थिए ।
अन्यायमा परेको भन्दै न्यायको लागि प्रहरीमा उजुरी दिन जाँदा डिएसपी देबेन्द्र पाण्डेले उक्त मुद्दा हेर्न नमिल्ने भएकाले ‘अदालतमा जानु’ भन्दै फर्काएको पीडित महिला सुमित्रा चाइले बताइन् ।
डिएसपी पाण्डेले त्यो जग्गा जमिन्दारले कब्जा गर्न खोजेको भन्ने जानकारी भएपनि केही गर्न नसक्ने बताए । ‘प्रहरीले हरेक मुद्दा कहाँ हेर्न सक्छ ? अदालत जानु पर्यो ।’–पाण्डेले भने ।
जमिन्दारका अगाडि अझै राज्यका निकाय कमजोर बन्नुले नागरिकले न्याय नपाउने अवस्था सृजना भएको मानव अधिकार निगरानी समूह तिलौराकोटका संयोजक भोजराज खनाल बताए ।