भगवतपुर गाविस-१ की ३४ वर्षीया प्रमिलादेवी रामलाई सोही ठाउँका ४० वर्षीय सुखराम राम र सुखरामकी पत्नी ३६ वर्षीया रामवती रामले कथित बोक्सी आरोप लगाई गालीगलौज गर्नुका साथै कुटपिट गरेको आरोपमा पीडित पक्षले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरेको छ ।
आरोपितकी छोरीलाई टुनामुना गरी बिरामी पारेको आरोपमा पीडितको घरमा आरोपितहरूले कात्तिक ३ गते गालीगलौज गर्दै कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ५ गते उजुरी दिएकी थिइन् ।
त्यसअघि भएको चार ओटा कुटपिटका घटनामा गाउँलेहरूले छलफल गराई मिलाएको बताउँदै पीडितले यो घटनामा कानुनी कारबाही हुनुपर्ने माग गरेकी छन् ।
आरोपितहरू फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी भिमप्रसाद ढकालले जानकारी दिए ।