INSEC Online

📅 २०८३ जेष्ठ २१

ठोरीका ज्येष्ठ नागरिकले आठ महिनासम्म पनि सामाजिक सुरक्षा भत्ता नपाएको आरोप

ठोरी गाउँपालिकाका ज्येष्ठ नागरिकले चालू आर्थिक वर्षमा आठ महिनाको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको आरोप लगाएका छन् ।

नेपाल सरकारले गाउँपालिकामार्फत प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले नदिएको ज्येष्ठ नागरिकको गुनासो छ ।

वडा कार्यालयमा जाँदा सचिव नभेटिने, जनप्रतिनिधिलाई सोध्दा आउँछ–आउँछ भनेर टार्ने गरेको ठोरी गाउँपालिका–३ की ८४ वर्षीया ज्येष्ठ नागरिक लक्ष्मी मायाले गुनासो गरिन् ।

‘उखरमउलो गर्मीले मरूँला जस्तो हँुदा एउटा गुल्कोज किनेर खाउँ भने पनि पैसा छैन ।’–उनले भनिन्–‘छोराछोरी घरमा छैनन् औषधिमुलो गर्न सकिएन भत्ता चाँही मरेपछि त आउने होला !’

ठोरी गाउँपालिका–२ का ७५ वर्षीय जितबहादुर बिक आठ महिनासम्म भत्ता नपाएकोमा जनप्रतिनधिहरूसँग आक्रोशित छन् । उनले भत्ता ल्याइदिन फुर्सद नपाएका जनप्रतिनिधिहरूलाई बुढाबुढीको आँसु लाग्ने टिप्पणी गरे ।

जिल्लाका कतिपय स्थानीय तहले अन्तिम चौमासिक भत्तासमेत खुवाइसकेको अवस्थामा ठोरी गाउँपालिकाले पहिलो किस्ताबाहेक भत्ता खुवाउन नसकेको भन्दै गाउँका बासिन्दाले असन्तुष्टि व्यक्त  गरेका छन् । भत्ता पाउने आस गर्दा गर्दै कैयन ज्येष्ठ नागरिकको मृत्यु भइसकेको उनीहरूले बताए ।

ज्येष्ठ नागरिक, विधवा, एकल महिला, अपाङ्ग, लोपोन्मुख आदिवासी जनजाति तथा दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

स्थानीय तहले चार–चार महिनामा एक वर्षमा तीन किस्तामा भुक्तानी दिनुपर्ने सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता हरेक वर्ष असोज १ गतेदेखि १५ गतेसम्म वडा कार्यालयमार्फत लाभग्राहीलाई भुक्तानी दिइसक्नुपर्ने सामाजिक सुरक्षा कार्यविधि २०७५ ले व्यवस्था गरेको छ ।

त्यसैगरी दोस्रो चौमासिक माघ १ गतेदेखि १५ गतेभित्र र अन्तिम चौमासिक जेठ १ गतेदेखि १५ गतेभित्र वितरण गरिसक्नुपर्नेछ । अन्तिम चौमासिकसम्म पनि भत्ता वितरण नगरिए रकम स्वतः ल्याप्स हुने व्यवस्था छ ।

ठोरी गाउँपालिकाका लाभग्राहीले पहिलो चार महिनाको मात्र रकम पाएको र आठ महिनाको रकम वितरण गर्ने समयसमेत कटिसकेको हुँदा सो रकम ‘फ्रिज’ हुने सम्भावना बढ्दै गएको कोष तथा लेखा नियन्त्रण कार्यालयका एक अधिकारीले बताएका छन् ।

‘सामाजिक सुरक्षा जस्तो संवेदनशील विषयमा कुनै समस्या छैन । एक किस्ताको भरपाई पठाउनेबित्तिकै अर्को किस्ता निकासाको प्रक्रिया अगाडि बढिहाल्छ । भरपाइ नै आउन नसक्नु भनेको स्थानीय तहको अकर्मण्यता हो ।’–ती अधिकारीले भने ।

यस सम्बन्धमा ठोरी गाउँपालिकाका अध्यक्ष पद्मबहादुर श्रेष्ठले वडा सचिव अभावका कारण सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको बताए ।

बैङ्कबाट भता वितरण गर्ने प्रयास गरेपनि गाउँपालिकास्थित राष्ट्रिय वाणिज्य बैङ्कले नसक्ने प्रतिक्रिया दिएको अध्यक्ष श्रेष्ठको भनाई छ । उनले सामाजिक सुरक्षा भत्ता शीर्षकको रकम फ्रिज हुने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले भने चालू आर्थिक वर्षभित्र यस वर्षको भत्ता वितरण नभए फ्रिज हुने बताए ।

गाउँपालिकाका पाँच ओटा वडामध्ये वडा नं ५ बाट भत्ता वितरणको भरपाई गाउँपालिकामा पेश भएकोले सो वडामा १२ महिनाको भत्ता निकासा दिएको र बाँकी चार ओटा वडाबाट पहिलो चौमासिकको भरपाई गाउँपालिका कार्यालयमा नआएकोले भत्ता निकासा नभएको अधिकृत थापाले बताएका छन् ।

अन्य

भिडियो