१९ वर्षीया महिला र उनका तीन वर्षीय छोरालाई बेचेको आरोपमा भैरवी गाउँपालिका–४ भैरीका २१ वर्षीय टेकराज पुरीलाई दैलेख जिल्ला अदालतले जेठ १९ गते ३ लाख ३० हजार रुपियाँ जरिवाना र ३८ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।
न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट भएको उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसारपसारमा १५ वर्ष र कुल सजायको थप १० प्रतिशतले हुन आउने साढे ३ वर्ष समेत ३८ वर्ष ६ महिना कैद भएको अदालतका प्रवक्ता बिनोद आचार्यले जानकारी दिए ।
आरोपित पक्षले पीडितलाई १ लाख ६५ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्लेख गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १५ अनुसार कैद तथा जरिवाना र दफा १७ अनुसार क्षतिपूर्ति फैसला भएको अदालतले जनाएको छ ।
पीडित महिला र बालकलाई भारतको बैङ्गलोरमा पुर्याएर २०७४ माघमा २ लाख २० हजार भारुमा बेचेको भन्दै पीडित पक्षले ०७५ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको मानव बेचबिखनसम्बन्धी उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।
शक्ति नेपालको पहलमा परेको उजुरीपछि जिल्ला सरकारी वकिल कार्यालयले भदौ ३ गते दैलेख जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो ।
घटनाको प्राप्त सूचनाका आधारमा शक्ति नेपाल र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको पहलमा बैङ्गलोरबाट उद्धार गरी नेपालगञ्ज हुँदै काठमाडौँ पुर्याएर पीडित आमा–छोरालाई आश्रय दिएसँगै कानुनी उपचार प्रक्रिया अगाडि बढाएको थियो ।