संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्र्तगत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट लेखिएको भएपनि जिल्लाका अधिकांश क्षेत्रमा खानेपानीको चरम अभावले स्थानीय मारमा परेका छन् ।
सुख्खायामको सुरूवातसँगै जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका अधिकांश ठाउँमा खानेपानीको चरम अभाव सिर्जना भएको छ ।
मेलौली मेलौलीको काँडा बजार र आसपासका गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीयको गुनासो छ ।
खानेपानीको अभावमा अनिदो बसेर पानीको जोहो गर्नुपर्ने अवस्था आएको स्थानीय सुना दमाइले बताए । दैनिक २० लिटर मात्रै पानी धाराबाट पाइने र गाईवस्तु तथा अन्य प्रयोजनका लागि पानीको खोज्नुपर्ने उहाँले बताए ।
प्रत्येक वर्ष सुख्खायाममा पानीकै अभाव झेल्नुपर्ने अवस्था आएको स्थानीय गङ्गासिंह नायकले बताए । खानेपानीको अभावमा प्रत्येक वर्ष भौतारिनुपर्ने अवस्था रही आएको उनको भनाई छ ।
काँडाबजारमा खानेपानीको चरम समस्या हुँदा होटेल व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएको होटेल व्यवसायी सीता चन्दले बताइन् ।
पानीको अभावमा होटेल व्यवसाय नै चौपट भएको उनले बताइन् । खानेपानीको अभावमा धेरै समस्या झेल्नुपरेको स्थानीय मीना भट्टले बताइन् ।
खानेपानीको समस्याका कारण महिलाहरुले बढी समस्या झेल्नुपरेको छ । घरको काम सँगसँगै खानेपानीको पनि जोहो गर्नुपर्ने भएकाले महिलाहरूलाई समस्या भएको स्थानीय तुला साउदले बताए ।
मेलौलीमा २०४० सालमा ग्वाल्लेकबाट ल्याएको खानेपानी योजना जीर्ण हुँदा र मुहानमै पानी कम हुँदा पानीको हाहाकार भएको हो ।
स्थानीय सरकारले खानेपानी समस्या समाधान नभएको गुनासो
विगत देखिनै खानेपानीको समस्या भएको मेलौली नगरपालिकामा समस्या समाधानका लागि स्थानीय सरकारले पनि कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।
जसका कारण स्थानीय बासिन्दाहरू निराश भएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि खानेपानीको समस्या समाधान हुने आश गरेको भएपनि समस्या समाधान हुन नसकेको स्थानीय केशवसिंह भाटले बताए ।
नगरक्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि सुर्नया नदीबाट लिफ्टिङ प्रणालीबाट खानेपानी ल्याउने तयारी भइरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताए । ठूलो प्रोजेक्ट भएकाले केही समय भने लाग्ने उनको भनाई छ ।