INSEC Online

📅 २०८३ असार २२

७२ वर्षको उमेरमा नागरिकता

मकवानपुरको चेपाङ बस्तीका करिब ३५ प्रतिशत नागरिक हालसम्म पनि नागरिकताविहीन छन् । ७२ वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र हात पर्दा फुलमाया चेपाङको अनुहारमा देखिएको मुस्कानले दशकौँको पीडा बिर्साइदियो। नागरिकता हातमा परेलगत्तै उनले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र वडाध्यक्ष उदास ब्लोनतर्फ हेर्दै आफ्नै चेपाङ भाषामा भनिन्, ‘ड्याह् बुढा भत्ता वाङना’ (अब वरृद्धभत्ता पाइने भो)।

मकवानपुरको कैलाश गाउँपालिका–७ खानीडाँडाकी फुलमायाले नागरिकता नपाएकै कारण अहिलेसम्म राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तासमेत पाएकी थिइनन् । जिल्ला प्रशासन कार्यालयबाट ०८३ असार १९ गते नागरिकता प्राप्त गरेसँगै उनको त्यो लामो प्रतीक्षा अन्त्य भयो। जीवनमै पहिलो पटक हेटौंडा पुगेकी फुलमाया नाङ्गै खुट्टा प्रशासन कार्यालय आइपुगेकी थिइन् । चर्किएका पैताला र नेपाली भाषा नबुझ्ने अवस्थाले उनी कार्यालय भित्र पस्नसमेत हिच्किचाइरहेकी थिइन् ।

वडाध्यक्ष उदास ब्लोनले हात समातेर सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुर्‍याएपछि मात्र उनले अलि सहज महसुस गरेको बताइन् । नागरिकता पाएपछि भने उनको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। साथमा आएका नातिसँग उनी छिट्टै घर फर्किन चेपाङ भाषामै आग्रह गरिरहेकी थिइन् ।

सात सन्तानकी आमा तथा २३ नातिनातिनाकी हजुरआमा फुलमायाले पाँच वर्षअघि नै नागरिकता बनाउन वडा कार्यालयमा प्रक्रिया सुरु गरेकी थिइन् । तर, आवश्यक कागजात जुटाउन नसक्दा काम अघि बढ्न सकेन। एक दशकअघि पति ठुले चेपाङको मृत्यु भइसकेको थियो भने माइती पक्षका बाबुआमा र दाजुभाइ पनि नरहेकाले प्रमाण जुटाउन झन् कठिन भयो। फुलमायाको नागरिकताविहीन अवस्थाबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि वडाध्यक्ष ब्लोन आफैं सक्रिय बनेर आवश्यक कागजात संकलन गरी सिफारिस गरेपछि असार १९ गते उनलाई जिल्ला प्रशासन कार्यालय ल्याएर नागरिकता दिलाइयो। उनका तीन छोरा र चार छोरीले भने यसअघि नै नागरिकता बनाइसकेका छन् ।

गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवारहरूसँग पनि फुलमायाले नागरिकता नपाएको गुनासो गरेकी थिइन् । हाल उनी कान्छा छोराको घरमा बस्छिन्, छोरा रोजगारीका लागि चितवनमा छन् भने बुहारीले ज्याला मजदुरी गरेर परिवार धानेकी छन् ।

फुलमायासँगै कैलाश गाउँपालिका–७ कै ५३ वर्षीया ठूलीमाया चेपाङले पनि असार १९ गते नागरिकता प्राप्त गरेकी छन् । नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार मकवानपुरका कैलाश र राक्सिराङ गाउँपालिकामा मात्रै करिब ३५ प्रतिशत चेपाङ समुदाय अझै नागरिकताविहीन छन् ।  विशेषगरी ६० वर्षमाथिका धेरै चेपाङको नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यका आधारभूत सेवाबाट समेत वञ्चित छन्।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार दुर्गम बस्तीमा घुम्ती शिविर सञ्चालन गर्न सके धेरै नागरिकले सहज रूपमा नागरिकता प्राप्त गर्न सक्नेछन् ।  उनका अनुसार अधिकांश चेपाङ समुदायले अत्यावश्यक नपरेसम्म नागरिकता बनाउन खासै चासो दिने गरेका छैनन् । चेपाङ समुदाय नागरिकतामात्र होइन, लालपुर्जाविहीन, न्यून साक्षरता र गरिबीको समस्यासँग पनि जुधिरहेको छ। यो समुदायको साक्षरता दर करिब ३० प्रतिशत मात्र रहेको छ। २०७८ सालको जनगणनाअनुसार नेपालमा ८४ हजार ३६४ चेपाङ जनसंख्या रहेकोमा २३ हजार ६५० जना मकवानपुर र ३५ हजार ६३७ जना चितवनमा बसोबास गर्छन्। देशका २६ जिल्लामा चेपाङ समुदायको उपस्थिति रहेको तथ्यांकले देखाएको छ।

मञ्जिता मैनाली

अन्य

भिडियो