परशुराम नगरपालिका–७ सादनीमा प्रसूति केन्द्र नहुँदा गर्भवती महिला घरमै सुत्केरी हुन बाध्य भएका छन् ।
स्वास्थ्य संस्थामा सुत्केरी हुन नपाउँदा आमा र बच्चाको स्वास्थ्यमा असर पर्नुको साथै सुत्केरी महिलाहरूले पाउने प्रोत्साहन भत्ताबाट समेत वञ्चित भएको स्थानीय महिलाहरूले गुनासो गरेका छन् ।
प्रसूति केन्द्र नहुँदा गर्भवती महिलाहरू घरमा र अस्पताल लैजाँदै गर्दा बाटैमा बच्चा जन्माउन बाध्य भएको परशुराम नपा–७ सादनकी मानमति बोहराले दुखेसो पोखिन् ।
गर्भवती महिलाहरूलाई सुत्केरी व्याथा लागेमा नजिकमा प्रसूति केन्द्र नभएकाले जोगवुडा अस्पताल वा छिमेकी देश भारत तिर लौजानु पर्ने बाध्यता रहेको सादनी स्वास्थ्य चौकीकी अनमी पार्वती बमले बताइन् ।
स्वास्थ्य संस्थामा सुत्केरी हुन नपाउँदा आमा र बच्चाको स्वास्थ्यमा असर पर्नुको साथै सुत्केरी महिलाहरू आफूले पाउने प्रोत्साहन भत्ताबाट समेत वञ्चित भएको कारण प्रसूति केन्द्र स्थापनाका लागि सम्बन्धित निकायहरूसँग पहल भइरहेको र चाँडै नै वडामा प्रसूति केन्द्र स्थापना गरिने परशुराम नगरपालिका–७ का वडाअध्यक्ष केशबबहादुर बोहराले बताए ।