सरकारले आर्थिक वर्ष २०७५–०७६ देखि प्राथमिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रम, पर्साको ११ ओटा स्थानीय तहले हालसम्म सञ्चालन गरेका छैनन् ।
बालबालिकालाई विद्यालयमा आकर्षित गराउन चालु आर्थिक वर्षको साउनदेखि लागू भएको दिवा खाजा कार्यक्रम आर्थिक वर्ष सकिन लाग्दा समेत सुरु भएको छैन ।
सरकारले दोस्रो चरणमा चालू आर्थिक वर्षमा देशका १२ ओटा जिल्लामा कक्षा एकदेखि पाँचसम्मका प्रत्येक विद्यार्थीका लागि दैनिक १५ रुपियाँको दरले भदौ महिनामा सिधै स्थानीय तहको खातामा पैसा पठाएको छ ।
तर, स्थानीय तहको कमजोरीका कारण विद्यार्थीको लागि सञ्चालित दिवा खाजा कार्यक्रम अलपत्र परेको छ ।
विशेषगरी विद्यालय बाहिर रहेका बालबालिकालाई आकर्षित गर्न सरकारले देशका १२ जिल्लामा दिवा खाजा कार्यक्रम साउनदेखि लागु गर्नेगरी रकम पठाइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय योजना महाशाखा प्रमुख घनश्याम अर्यालले बताए ।
अर्यालका अनुसार स्थानीय तहमा पठाएको रकम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको प्रतिनिधिको संयोजकत्वमा एउटा समिति गठन गरी दिवा खाजा कार्यक्रम सञ्चालन गर्नुपर्ने थियो ।
सःशर्त अनुदान भएकोले स्थानीय तहमा गएको बजेट खर्च हुन नसकेपछि फिर्ता हुने अर्यालले बताए । पर्साको वीरगञ्ज महानगरपालिका, ठोरी र छिपहरमाई जीराभवानी गाउँपालिकाले मात्र हालसम्म उक्त कार्यक्रम लागू गरेको शिक्षा विकास तथा समन्वय एकाई पर्साले जनायो ।
शिक्षा विकास तथा समन्वय एकाईका स्रोत व्यक्ति तथा दिवा खाजा कार्यक्रमका सहजकर्ता छोटेलाल साह तथा नेपालेन्दु साहले स्थानीय तहमा समयमै बजेट आएपनि कर्मचारी र जनप्रतिनिधिहरूबीच कार्यक्रम सञ्चालन सम्बन्धमा अन्योल रहेको कारण ढिलाइ भएको बताए ।
धेरै विद्यालयमा व्यवस्थापन समिति नहुँदा कसरी सञ्चालन गर्ने भन्ने अन्योल रहेकोले ढिलाइ भएको र व्यवस्थापन समिति गठन भएका विद्यालयहरूमा पनि दिवा खाजा सञ्चालन भएको छैन ।
सरकारले सःशर्त अनुदान अन्तर्गत स्थानीय तहमा विद्यालयका बालबालिकाका लागि पठाएको दिवा खाजा कार्यक्रमको रकममा कर्मचारी, जनप्रतिनिधि र विद्यालयका शिक्षकहरूबीच कमिशनको कुरा नमिल्दा स्थानीय तहका कर्मचारीहरूले विद्यालयको खातामा उक्त रकम नपठाइदिँदा बालबालिका दिवा खाजाबाट वञ्चित रहेको विद्यालयका शिक्षकहरूको आरोप छ ।
वीरगञ्ज महानगरपालिका, ठोरी र छिपहरमाई गाउँपालिकाको सबै विद्यालयमा यो कार्यक्रम सञ्चालन भएपनि पोखरिया, पर्सागढी र बहुदरामाई नगरपालिका तथा जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, पकहामैनपुर, धोबिनी, बिन्दवासिनीलगायत गाउँपालिकाहरूमा हालसम्म कार्यक्रम सञ्चालन भएको छैन ।
वीरगञ्ज महानगरपालिकाबाहेक हरेक स्थानीय तहमा विद्यार्थी सङ्ख्याको आधारमा १ सय ८० दिनको लागि १ करोडदेखि १ करोड ५० लाख रुपियाँसम्म साउनदेखि लागू हुनेगरी सरकारले रकम पठाएको छ ।
पर्साको बाँकी स्थानीय तहको अधिकांश विद्यालयमा व्यवस्थापन समिति नहुनु र कार्यक्रम ढिला गरी सञ्चालन भएपछि चैत महिनाभर विद्यालय बन्द र वैशाखदेखि कार्यक्रम सञ्चालन गरे असारसम्म तीन महिनामात्र रकम खर्चिने देखिएको छ । दिवा खाजाको आधाभन्दा बढी रकम भने फ्रिज हुने निश्चित देखिएको छ ।
दिवा खाजा सञ्चालित विद्यालयमा विद्यार्थीहरुको विद्यालय जाने क्रम बढेको छ । नयाँ शैक्षिक सत्रमा भर्ना बढ्नुका साथै विद्यार्थीको विद्यालयमा उपस्थितिमा पनि बृद्धि भएको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सखुवनिया, शङ्कर सरैयाका शिक्षक रामनारायणप्रसाद महतोले बताए ।