०७२ साउनमा सुर्खेतमा भएको सिमाङ्कन विरूद्धको आन्दोलनको क्रममा घाइते भएका तीनजनालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वैशाख २३ गते यातायात तथा समन्वय खर्चबापत सहयोग प्रदान गरेको छ ।
आन्दोलनमा घाइते भएका वीरेन्द्रनगर नपा–६ का २२ वर्षीय अनिश पन्त, २९ वर्षीय रामबहादुर श्रेष्ठ र दैलेख नौमुले गाउँपालिका–५ का २८ वर्षीय नरबहादुर पुरीलाई इन्सेकले प्रदेश कार्यालय, सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी वैशाख २३ गते प्रतिव्यक्ति १०-१० हजार रुपियाँ नगद सहयोग प्रदान गरेको हो ।
पन्ध्रदिन सम्म भएको सो आन्दोलनको क्रममा ०७२ साउन २५ गते प्रहरीको गोलीबाट घाइते भएका पन्त, श्रेष्ठ र पुरीको काठमाडाँैमा उपचार गरिएको थियो ।
गृह मन्त्रालयले घाइते तीनैजनाको उपचार खर्च दिएपनि सुर्खेतमा उपचार हुन नसकी थप उपचारका लागि सुर्खेतदेखि नेपालगञ्ज र नेपालगञ्जबाट काठमाडौँ लैजाँदा लागेको जहाज भाडा बापतको ३ लाख ६६ हजार रुपियाँ हालसम्म नदिएको पीडित रामबहादुर श्रेष्ठले बताए ।
सिमाङ्कन विरूद्धको आन्दोलनमा घाइते भएका पन्त, श्रेष्ठ र पुरीलाई थप उपचार तथा राहत उपलब्धताको लागि सङ्घीय सरकार र प्रदेश सरकारसम्म पुग्न लाग्ने यातायात खर्च तथा समन्वयका लागि सहयोग स्वरूप सो रकम प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले जानकारी दिए ।
