जिल्ला सदरमुकाम बेसीशहर बजारमा खानेपानीको अभाव हुँदा समस्या भएको छ । पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको बेसीशहर खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताए ।
हाल बजारमा दैनिक रूपमा प्रतिसेकेण्ड ३८ लिटर पानी आपुर्ति हुनपर्नेमा दैनिकरूपमा प्रतिसेकेण्ड २१ लिटर पानी मात्र आपुर्ति हुने गरेको प्रधानको भनाई छ ।
बजारमा २ हजार ६ सय ७० धाराबाट बजार क्षेत्रमा ३५ लाख उपभोक्तालाई खानेपानी वितरण गर्दै आइरहेको प्रधानले जानकारी दिए ।
पर्यटकको आवागमन समेत बढी हुने समयमा खानेपानी अभाव हुँदा होटल व्यवसायमा समेत समस्य भएको होटल ब्यवसायी बताउँछन् ।
जिल्लामा पानी उपलब्ध गराउने ट्याङकर समेत सहजै नपाइने हुँदा झनै समस्या परेको घलेगाउँ गेष्ट हाउसका प्रोपाइटर आशवीर गुरूङले बताए ।
पानीको अभाव हुँदा जिल्ला कारागारमा समेत कैदीबन्दीलाई खाना पकाउन, सरसफाइ र शौचालयमा प्रयोग गर्न समेत समस्या भएको जिल्ला कारागारका निमित्त प्रमुख मनिशा चन्दले बताइन् ।
पानीको अभावको कारणले गर्दा जिल्ला अस्पतालमा पनि समस्या भएको अस्पतालका प्रशासकिय प्रमुख युवराज देवकोटाको भनाइ छ ।
अस्पतालमा पानी अभाव हुँदा अस्पतालमा सरसफाई तथा विशेषगरी शौचालय फोहोर र दुर्गन्धित हुनुका साथै सङ्क्रमणको समस्या हुने गरेको देवकोटाले बताए ।
बेसीशहरमा दैनिक रूपमा ५२ लाख लिटर पानी आवाश्यकता परेपनि हाल १७ लाख लिटर पानीमात्र उपलब्ध हुँदै आएको छ । बजारमा पानीको आपुर्ति हाल छुट्टाछुट्टै सात ओटा मुहान र एउटा बोरिङबाट खानेपानी ल्याइएको छ ।
जिल्ला खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानले खानेपानीको अभाव भएपछि समितिले पटकपटक नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय आदी सम्बन्धित ठाउँमा समस्या राखेको भएपनि सम्बोधन नभएको गुनासो गरे ।
ट्याङकर नहँुदा दमकल प्रयोग गरेर अत्यावश्यक क्षेत्रमा पानी उपलब्ध गराइरहेको र दीर्घकालिन रूपमा समस्या समाधानको प्रयास गरिरहेको बेसीशहर नगरपालिकाको प्रमुख गुमानसिंह अर्यालले बताए ।
नगरपालिका प्रमुख अर्यालले खानेपानी आपुर्तिको लागि छिटै नै वैकल्पिक मुहान खोजी गरी नगरको खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

