हिमाली गाउँपालिकाको कवाडी डिपोमा एक महिनादेखि चामल ढुवानी नभएपछि सो गाउँपालिकाका सेवाग्राहीहरू समस्यमा परेका छन् ।
ठेकेदारले अनुदानको चामल समयमै ढुवानी नगरेपछि हिमाली गाँउपालिका–१, २, र ३ को बिच्छँया र सोही गाउँपालिका–४ र ५ को रूगीनका स्थानीयहरू समस्यामा परेका हुन् ।
डिपोमा ठेकेदारले सम्झौता अनुसार चामल ढुवानी नगरेका कारण एक महिनादेखि चरम खाद्य सङ्कट भएको हिमाली गाँउपालिका–५ का अध्यक्ष अम्मलाल कार्कीले बताए ।
आफू दुई दिन पैदल हिँडेर चामल किन्नको लागि डिपोमा पुगेको भएपनि डिपोमा चामल नभएकोले रितो हाल फर्किनु परेको हिमाली गाउँपालिका–२ बिच्छँयाकी जुनकला बुढाले गुनासो गरिन् ।
बिच्छँया गाउँका चन्द्रबहादुर बुडथापाले भने–‘गाउँबाट चामल किन्न ४० जना जति डिपोमा पुग्यौँ । तर, चामल पाएनौँ । रितोहाता नै सबै जना घर फर्किनु परेको छ । बिच्छँयामा मात्रै ४ हजार जनसंख्या रहेको छ । सबै घरमा खाद्य सङ्कट उत्पन्न भएको छ । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान पुग्दैन् ।’
कवाडी डिपोका लागि खाद्य संस्थान बाजुराले यो वर्ष मात्रै ६ हजार क्वीन्टल चामलको कोटा स्वीकृत गरेको भए पनि अहिलेसम्म १ हाजर ५ सय क्वीन्टल चामल मात्रै पुगेको जिल्ला प्रशासन कार्यलय, बाजुराले जनायो ।
खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले चामल ढुवानी नगर्ने ठेकेदारलाई तत्काल ढुवानी गर्न ताकेता गरिएको बताए ।
प्रमुख जिल्ला अधिकार चेतराज बरालले चामल अभाव भएको जानकारी प्राप्त भएपश्चात खाद्य संस्थान र ठेकेदारलाई तत्काल ढुवानी गर्न निर्देशन दिई सकिएकोले छिटै नै समस्या समाधान हुने बताए ।
हिमाली गाउँपालिका बाजुराको सर्वाधिक विकट गाउँपालिका हो । सदरमुकाम मार्तडीबाट यस गाउँपालिका पुग्न झण्डै एक साता लाग्ने गरेको छ ।