नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी सञ्चारकर्मीको आवतजावतमा अवरोध तथा त्रास सिर्जना गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा ०८३ असार २९ गते हस्ताक्षरित विज्ञप्तिअनुसार असार २९ गते बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालयको प्रवेशद्वारमा शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो । उक्त घटनाले सञ्चारकर्मीलाई कार्यालय प्रवेश तथा सञ्चारकर्ममा जान अवरोध भएको महासंघले जनाएको छ ।
महासंघले सम्बन्धित निकायसँग सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्दै गाडी तत्काल हटाउन माग गरेको छ । साथै, सञ्चारमाध्यम र पत्रकारको पेशागत अधिकारको उपभोगमा अवरोध पुर्याउने घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न आग्रह गरेको छ । विज्ञप्तिमा अवरोध हटाउनका लागि महासंघले सुरक्षा निकायसँग समन्वय गरिरहेको उल्लेख गरिएको थियो ।