अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर ०८३ असार २७ गते डुबानमा परेको छ । डुबानका कारण अस्थायी रूपमा बसोबास गरिरहेका विस्थापित परिवार पुनः प्रभावित भएका छन् ।
होल्डिङ सेन्टरभित्र पानी पसेपछि सुरक्षाकर्मीले डुङ्गाको सहायताले केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा तथा दैनिक प्रयोगका आवश्यक वस्तु पानीले भिजेर क्षति पुगेको प्रभावित सुकुम्बासीहरुले बताउनु भएको छ । साथै, घटनास्थलमा सुरक्षाकर्मी राति करिब २ बजेतिर मात्रै पुगेको उनीहरूको गुनासो छ ।

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा डिजास्टर म्यानेजमेन्ट टोलीसहित ३० जना र नेपाल प्रहरीका थप ३० जना गरी संयुक्त उद्धार टोली परिचालन गरिएको थियो ।
उद्धार टोलीले होल्डिङ सेन्टरमा रहेका १ सय ५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा स्थानान्तरण गरेको मन्त्रालयले जनाएको छ । अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जना सेन्टरभित्रै पानी नपुगेको सुरक्षित स्थानमा बसिरहेका छन्।
उद्धार टोलीले उहाँहरूलाई भक्तपुरको खरिपाटीस्थित अस्थायी आवासमा स्थानान्तरण गर्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ।