१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला मधुवन नगरपालिका–१ का २८ वर्षीय गोविन्द दमाईलाई चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ९ गते राति सुतिरहेको अवस्थामा उठाएर सार्वजनिक स्थानमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
भूकम्पपछि पूनर्निमार्ण हुँदै गरेका घरहरूमा ज्यामी काम गर्न आएका आरोपित दमाईले स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत पीडित बालिकालाईे फकाएर लगी बलात्कार गरेको पीडित बालिकाले बताएको र पीडितका बाबुले राति हराएकी छोरी भोलिपल्ट बिहान ४ बजे रूँदै घरमा आएपछि घटनाबारे थाहा पाएको कुरा जाहेरीमा उल्लेख गरेका छन् ।
उक्त उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको धुलिखेल प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण १० गते धुलिखेल अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
पीडित पक्षले दिएको जाहेरीमा मुलुकी अपराध संहिता ऐन–२०७४ को परिच्छेद–१८ को दफा–२१९ को उपदफा ३ (ग) बमोजिम हदैसम्मको कारवाही र क्षतिपूर्तिको माग राखिएको छ ।