INSEC Online

📅 २०८३ असार २७

सरकारी स्वास्थ्य संस्थामा एन्टिरेबिज भ्याक्सिन अभाव

मधेश प्रदेशका ११ वटा प्रादेशिक अस्पतालसहित सरकारी स्वास्थ्य संस्थामा एन्टिरेबिज (एआरभी) भ्याक्सिनको अभाव  हुँदा  कुकुरले टोकेका बिरामी महँगो मूल्यमा उपचार गराउन बाध्य भएका छन् ।

मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार मधेश प्रदेशमा विगत ६ महिनादेखि सङ्घीय सरकारले एन्टिरेबिज भ्याक्सिन पठाएको छैन । सरकारले मधेश प्रदेशका ४४ वटा अस्पताल तथा स्वास्थ्य संस्थालाई मासिक ७ हजार ५ सय भाइल एन्टिरेबिज खोपको कोटा छुट्याउदै आएको छ। तर सङ्घीय सरकारले कहिले २ हजार, कहिले २ हजार ५ सय र कहिले ५ हजार भाइल खोप मात्र पठाउने गरेको भए पनि  हाल कुनै स्वास्थ्य संस्थाका लागि भ्याक्सिन उपलब्ध हुन नसकेको उहाँले बताउनु भयो ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२\८३ मा एन्टिरेबिज भ्याक्सिनका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएको ७ सय ५९ भाइल खोप केही दिनमै सकिएको डा. यादवले जानकारी दिनुभयो। उहाँले सङ्घबाट आपूर्ति नहुँदा प्रदेशभर नै एन्टिरेबिज भ्याक्सिन अभाव रहेको बताउँदै भ्याक्सिन उपलब्ध गराउन मन्त्रालयमा पटक–पटक ताकेता गरिए पनि केन्द्रमा आपूर्तिकर्ताबाट नै आपूर्ति हुन नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो।

मिथिला नगरपालिका –६ का राम एक्वाल यादवले बिरामीले बाहिरबाट खरिद गर्दा एन्टिरेबिज भ्याक्सिनको एक डोजका लागि ६ सयदेखि ७ सय रुपियाँसम्म तिर्नुपरेको बताउनुभयो । उहाँले राज्यले समयमै निःशुल्क भ्याक्सिन उपलब्ध गराउन नसक्दा उपचारमा आर्थिक भार परेको भन्नुभयो ।

त्यसैगरी कमला नगरपालिका –२ की कौशिला देवी मिश्रले औषधि किन्न पैसा अभावले ऋण गर्नु परकोले मानसिक तनाव बढेको बताउनु हुन्छ । सरकारी अस्पतालमा निःशुल्क पाइने उक्त भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी स्वास्थ्य संस्थाबाट महँगो मूल्यमा खरिद गरी भ्याक्सिन लगाउन बाध्य भएको बताउनुभयो।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले माथिल्लो निकायबाट भ्याक्सिन प्राप्त नभएकाले समस्या हुँदै आएको बताउनुभयो। उहाँले भ्याक्सिन अभावको कारण अस्पतालले विरामि अन्यत्र पठाउन बाध्य भएको भन्नुभयो ।

सन्तोष कुमार यादव

अन्य

भिडियो