INSEC Online

📅 २०८३ असार २६

कुटपिट घटनाका आरोपित गिरफ्तार

तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया पार्वती कुमारी मण्डललाई जेठ २२ गते सखुवाको खम्बामा बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३८ वर्षीय दिलिप कुमार मण्डललाई ०८३ असार २४ गते तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित मधेपुरा टोलबाट गिरफ्तार गरेको छ ।

खम्बामा बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गरेको भन्दै जेठाजु ४५ वर्षीय प्रकाश मण्डल, जेठानी ३५ वर्षीया ललिता मण्डल, छिमेकी ३८ वर्षीय दिलिप मण्डल, ४५ वर्षीया इन्द्रमाया देवी मण्डल, ६५ वर्षीय रामलखन मण्डल, ३० वर्षीय नितेश मण्डललविरुद्ध पीडितले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

जेठाजू प्रकाशले ७५ वर्षीय ससुरा रामचन्द्र मण्डलसँग जग्गा जमिन बाँडफाँडको विषयमा विवाद भएपछि उनलाई मानसिक बिरामी रहेको भन्दै जेठ २१ गते सिरहा जिल्ला धनगढीमाई नगरपालिका–११ छपरारीस्थित सुधार केन्द्रमा बन्धक शैलीमा लगेको घटनाको प्रतिकार गर्न खोज्दा आफूलाई अमानवीय व्यवहार गर्दै कुटपिट गरिएको पीडितले बताइन् । पीडितको उपचार असार २५ गते जिल्ला अस्पताल राजविराजमा भयो ।

मण्डलविरुद्ध सप्तरी जिल्ला अदालतबाट असार २४ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको भन्दै अन्य आरोपितहरुको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी हेमराज घिमिरेले जानकारी दिनुभएको छ ।

नविन यादव

अन्य

भिडियो