INSEC Online

📅 २०८३ असार २६

८ सय ६२ जना जग्गा धनीलाई लालपुर्जा वितरण

जिल्लाको चैनपुर नगरपालिका–१० खराङमा द्वन्द्वकालमा अभिलेख जलाइएका ८ सय ६२ जना जग्गा धनीलाई लालपुर्जा वितरण गरिएको छ ।

तत्कालीन माओवादी द्वन्द्वका क्रममा चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा ०५९ वैशाख १४ गते आगजनी गरिएको थियो । सो क्रममा जिल्लाका चार स्थानीय तहका दर्ता श्रेस्ता, मोठ तथा अन्य महत्वपूर्ण अभिलेख जलेर नष्ट भएको थियो ।

चैनपुरमा रहेको नापी तथा मालपोत कार्यालय आगजनीबाट अभिलेख नष्ट  भएका ८ सय ६२ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।

द्वन्द्वकालमा अभिलेख जलेर नष्ट भएका चैनपुर नगरपालिका–१० का ८ सय ६२ जना जग्गाधनीका लागि आवश्यक नापनक्सा तथा कानुनी प्रक्रिया पूरा भएपछि लालपुर्जा वितरण गरिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले बताउनु भयो ।

द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका लालपुर्जा करिब २४ वर्षपछि स्थानीयले पाएका छन । आगजनी गर्दा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्तालगायतका महत्त्वपूर्ण कागज पत्र नष्ट भएका थिए । चैनपुर –१० का लालपुर्जा  एक हजार १ सय ५१ हेक्टर निजी र सरकारी कित्ताका ८ सय ४० हेक्टर जग्गाको नाजजाँच सकेक लालपुर्जा वितरण गरिएको विशेष नापी प्रमुख नेपालले बताउनुभयो ।

लालपुर्जा प्राप्त गरेपछि जग्गाको किनबेच, बैंकिङ कारोबार, घर निर्माण तथा अन्य प्रशासनिक काममा सहजता भएको छ । २०७६ माघ १३ को मन्त्रिपरिषद्को निर्णयले पुनः नापजाँच गरी सोको पुनःस्थापना गर्नका लागि विशेष नापी कार्यालय चैनपुर स्थापना गरिएको हो । हाल यस कार्यालयअन्तर्गत २ वटा नापी टोलीमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नाप नक्सा तथा जग्गा दर्ताको कार्य भइरहेको छ । चैनपुर नगरपालिकाको  ३, ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सकिएको विशेष नापी कार्यालय चैनपुरले जनाएको छ । यस मध्ये ८,९ र १० वडाको लालपुर्जा समेत वितरण भइसकेको छ । चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिका सहित चार स्थानीय तहको ६४ हजार हेक्टर क्षेत्रमा २ टोलीबाट नापी भइरहेको छ ।

भविन कार्की

अन्य

भिडियो