INSEC Online

📅 २०८३ असार २९

गुल्मीमा २ सय ८७ बालबालिका कुपोषित

गुल्मीमा गत वैशाख महिनामा जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकामा कुपोषित बालबालिका खोजपड्ताल गरिएको थियो। राष्ट्रिय पोषण लेखाजोखा अभियानको तथ्याङ्क अनुसार ६ महिनादेखि पाँच वर्षमुनिका २ सय ३८ जना शीघ्र कुपोषित बालबालिका र ४९ जना शीघ्र कडा कुपोषित बालबालिका भेटिएका छन्।  कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा पारिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्र्दै १२ हजार ७ सय ९६ बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी कृष्ण पन्थीले जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिकामा एक हजार ९ सय ६० बालबालिकाको पोषण जाँच गरिएकोमा १६ शीघ्र कुपोषित र एक शीघ्र कडा कुपोषित बच्चा भेटिएका छन्। मुसिकोट नगरपालिकामा एक हजार ३ सय ५९ बालबालिकाको पोषण जाँच गर्दा ४२ शीघ्र कुपोषित र दश शीघ्र कडा कुपोषित बच्चा भेटिएको पन्थीले बताउनुभयो । उहाँका अनुसार कलिगण्डकी गाउँपालिकामा ५ सय ३४ बालबालिकाको पोषण जाँच गरेर हेर्दा १४ शीघ्र कुपोषित र चार शीघ्र कडा कुपोषित बच्चा भेटिएका छन्। सत्यवतीमा ९ सय ३३ बालबालिकाको पोषण जाँच गर्दा १६ शीघ्र कुपोषित र तीन शीघ्र कडा कुपोषित बच्चा भेटिएका छन्।

चन्द्रकोटमा ९ सय ४० बालबालिकाको पोषण जाँच गर्दा १७ शीघ्र कुपोषित र छ शीघ्र कडा कुपोषित बच्चा फेला परेका छन् । इस्मामा एक हजार १९६ बालबालिकाको पोषण जाँच गर्दा १० शीघ्र कुपोषित र छ शीघ्र कडा कुपोषित बच्चा भेटिएका छन्।

मालिकामा १ हजार १ सय १५ बालबालिकाको पोषण जाँच गर्दा ३८ शीघ्र कुपोषित र आठ शीघ्र कडा कुपोषित बच्चा भेटिएका छन्। मदानेमा एक हजार २ सय ७२ बालबालिकाको पोषण जाँच गरेकोमा २२ शीघ्र कुपोषित र तीन शीघ्र कडा कुपोषित बच्चा भेटिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

धुर्कोटमा एक हजार १ सय ३० बालबालिकाको पोषण जाँच गरेकोमा १३ शीघ्र कुपोषित र तीन शीघ्र कडा कुपोषित बच्चा भेटिएका छन्। गुल्मीदरमा ७ सय १ बालबालिकाको पोषण जाँच गर्दा २६ शीघ्र कुपोषित र दुई शीघ्र कडा कुपोषित बच्चा भेटिएका छन्।

छत्रकोट गाउँपालिकामा ८ सय ९० बालबालिकाको पोषण जाँच गर्दा आठ शीघ्र कुपोषित र एक शीघ्र कडा कुपोषित बच्चा भेटिएका छन्। रुरुक्षेत्रमा एक हजार ७ सय ६६ बालबालिकाको पोषण जाँच गरिएकोमा १६ शीघ्र कुपोषित र दुई शीघ्र कडा कुपोषित बच्चा भेटिएका छन्।

समस्या देखिएका बालबालिकाहरूको उपचारको व्यवस्था गर्ने, पोषण सुधारका लागि शीघ्र कडा कुपोषित भएका बच्चाहरुलाई ओटिसीमा प्रेषण गरिएको छ। शीघ्र कुपोषित बच्चाहरुलाई पोषण परामर्श गरिएको बताइएको छ। कमजोर पारिवारिक स्थितिले उचित पोषण लिनबाट बञ्चित बच्चाहरुलाई पोषण सहयोगको वातावरण सिर्जना गरिएको स्वास्थ्य कार्यालय गुल्मीको प्रमुख पुष्पा थापाले बताउनुभयो ।

टोपलाल अर्याल

अन्य

भिडियो