INSEC Online

📅 २०८३ असार २३

डायलाइसिसमा पालो नपाउँदा बिरामी समस्यामा

लमही सामुदायिक डायलाइसिस सेन्टरमा पालो नपाउँदा मिर्गौलाका बिरामीलाई समस्या भएको छ । नियमित डायलाइसिस गर्दै आएका विरामी धेरै रहेकोले नयाँ बिरामीले पालो पाउन लामो समय कुर्नु परेको बिरामीका आफन्तले गुनासो गरेका छन् ।

प्यूठान सरुमारानी गाउँपालिका निवासी रामबहादुर रायमाझी मिर्गौलाका बिरामी हुनुहुन्छ तर पालो कुरेकै एक महिना भइसकेको र अझै पालो नपाएको भन्दै गुनासो गर्नुभयो । लमही सामुदायिक डायलाइसिस सेन्टरमा ५८ जना बिरामीले नियमित मिर्गौलाको डायलाइसिस गरिरहेका छन् । ती बाहेक अरु ५० जना नयाँ बिरामी पालो कुरेर बसेको डायलाइसिस सेन्टरका प्रमुख सुशील पाण्डेले जानकारी दिनुभयो । डायलाइसिस सेन्टरमा अहिले १० वटा मेसिन छन् । ती मेसिनमा दिनमा दुई सिफ्टमा उपचार गरिन्छ तर नियमित मेसिन लगाउनुपर्ने विरामीका कारण नयाँ बिरामीलाई समस्या भएको डायलाइसिस सेन्टरले जनाएको छ ।

सेन्टरका प्रमुख पाण्डेले मिर्गौला फेल भएका बिरामीको संख्या लगातार बढ्दै गएकाले पनि सेवा पुर्‍याउन नसकिएको बताउनुभयो । उहाँले उपचारमा सहजता ल्याउन सरकारले मेसिन र जनशक्ति थप गर्नुपर्ने बताउनुभयो । क्षमता नबढाएर यही अवस्थामा सबै बिरामीलाई सेवा दिन समस्या हुने उहाँको भनाइ छ । २०७३ मा स्थापना भएको डायलाइसिस सेन्टरमा हाल दाङ, कपिलवस्तु, प्युठान, रोल्पा, रुकुम, सल्यानलगायतका  बिरामी उपचारका लागि आउने गरेका छन् ।

जयनारायण पुन

अन्य

भिडियो