INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा सवारी चालकमाथि कुटपिट

पिकअप नरोकेको आरोपमा फिदिम नपा–४ का २७ वर्षीय सवारी चालक भीमबहादुर विकसहित तीन जनालाई प्रहरी चौकी नांगीनमा कार्यरत प्रहरी हवल्दार टिका बस्नेतले चैत ५ गते कुटपिट गरेका छन् ।

सोही पिकअपका सहचालक फिदिम नपा–१ का २० वर्षीय जीवन लावर र सोही ठाउँका २९ वर्षीय दिपक फुँयाललाई हवल्दार बस्नेतले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

मे १ च ४५५७ नम्बरको पिकअपले फिदिम वजार स्थित कञ्चनजंघा इन्टर प्राइजेजबाट चाउचाउ लिएर फिदिमदेखि फालेलुङतर्फ गइरहेको बेलामा नरोकेको भन्दै चालक र सहचालकलाई प्रहरीले कुटपिट गरेको पीडितहरुले आरोप लगाए ।

कुटपिट गरेको बेला मोबाइलबाट तस्विर र भिडियो खिचेको भन्दै फुँयललाई कुटपिट गरेको पीडितको भनाई छ ।

“म सडकमा गइरहेको थिएँ । कुटपिट हुँदै गरेको देखेपछि मोबाइलले भिडियो खिच्दै थिएँ”–उनले भने– “तँ पत्रकार होस् भन्दै निर्घात कुटपिट गरे ।”

तीनै जना पीडितको तिघ्रामा चोट तथा निलडाम देखिएको छ । उनीहरुको उपचार जिल्ला अस्पताल पाँचथरमा चैत ५ गते गरिएको छ ।

आरोपित विरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको कञ्चनजंघा इन्टरप्राईजेजका सञ्चालक नवराज घिमिरेले बताए ।

घटनाको बारेमा जानकारी पाउनासाथ आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई अनुसन्धान थालिएको सो कार्यालयका डिएसपी नरेन्द्र कुँवरले बताए । आरोपित दोषी देखिए कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

अन्य

भिडियो