हेमोफेलियाका बिरामीको उपचार सुविधा कटौती गरेको भन्दै पीडितहरूले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन् । २०८३ असार ८ गते राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका अध्यक्ष नवीन ढुंगेलको नेतृत्वमा स्वास्थ्य मन्त्रालय अगाडि हेमोफिलिया पीडितहरुले धर्ना दिएका हुन् । हेमोफिलिया भएका व्यक्तिहरूको उपचारका लागि विगतदेखि कोशी प्रदेश सरकारले विनियोजन गर्दै आएको बजेट कटौती गरेपछि धर्ना दिन बाध्य भएको उनीहरूले बताए ।

धर्नामा सहभागीहरूले हेमोफिलिया पीडितको जीवनरक्षाका लागि आवश्यक बजेट तत्काल पुनः वृद्धि गर्न सरकारसँग माग गरेका थिए । उनीहरूले सरकारले माग सम्बोधन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका थिए । अध्यक्ष ढुंगेलले हेमोफिलिया जन्मजात हुने गम्भीर रक्तस्रावसम्बन्धी रोग भएको बताए । हेमोफिलिया रोगको समयमै उपचार नपाए बिरामीमा स्थायी अपाङ्गता हुन सक्ने अध्यक्ष ढुंगेलको भनाइइ छ । उहाँका अनुसार हेमोफिलिया भएका व्यक्तिमा आन्तरिक तथा बाह्य दुवै प्रकारका रक्तस्राव हुने भएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक औषधिको एक डोजमै करिब ४५ हजार रुपियाँदेखि डेढ लाख रुपियाँसम्म खर्च लाग्ने गर्छ । उक्त औषधि बिरामीले आफैं बजारबाट खरिद गर्न नपाउने भएकाले सरकारले नै बजेट छुट्याएर उपचारको व्यवस्था गर्नुपर्ने अध्यक्ष ढुंगेलले सरकारसँग माग गर्नुभयो ।
अध्यक्ष ढुंगेलका अनुसार कोशी प्रदेश सरकारले विगत ६ वर्षदेखि हरेक वर्ष १ करोड रुपियाँ बजेट विनियोजन गर्दै आएको थियो । त्यसबेला प्रदेशमा करिब ९० जना हेमोफिलिया बिरामी थिए । हाल बिरामीको संख्या बढेर १ सय ५५ जना पुगेका छन् । तर यस वर्ष सरकारले बजेट घटाएर ३० लाख रुपियाँ मात्र विनियोजन गरेको भन्दै धर्नामा सहभागिहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।
‘सरकारसंग पटक–पटक बजेट बढाउन माग गर्दै आएका थियौँ । तर उल्टै बजेट कटौती गरियो । सरकार हामीलाई बाँच्न दिने कि मर्न दिने’ अध्यक्ष ढुंगेलले भन्नु भयो ।
कोशी प्रदेशमा प्राथमिक उपचारका लागि ५ देखि ६ करोड रुपैयाँ र आकस्मिक उपचारका लागि कम्तीमा २ करोड रुपियाँ बजेट आवश्यक पर्छ । हेमोफिलिया सोसाइटीका अनुसार देशभर करिब १ हजार जना बिरामी संस्थामा आबद्ध छन् । राष्ट्रिय जनगणना अनुसार नेपालभर ४ हजार ९ सय ३७ जना हेमोफिलिया पीडित रहेको अध्यक्ष ढुंगेलले जानकारी दिनुभयो ।