हातमा भएको नेपाली नागरिकताको प्रमाणपत्रलाई राज्यले निस्सा र सङ्केतका आधारमा प्रमाणित गर्न नसकेपछि राज्यबाट पाउने सामाजिक सुरक्षाबाट वञ्चित हुँदै आउनु भएकी साकेला गाउँपालिका–२ रतन्छाकी ६० वर्षीया ज्येष्ठ नागरिक सुख मायाँ राईलाई इन्सेकको पहलमा सामाजिक सुरक्षा प्राप्तिको बाटो खुलेको छ ।
नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख गरिएका सूचना र विवरण राखिएको जिल्ला प्रशासन कार्यालय, खोटाङको भवनमा सशस्त्र द्घन्द्घका क्रममा तत्कालीन विद्रोही पक्षले आगजनी गरेपछि सुख मायाँ राईको हातमा भएको नागरिकता खोटो भएको थियो ।

खोटो नागरिकतालाई राज्यले निस्सा र सङ्केतका आधारमा प्रमाणित गर्न नसकेपछि सुख मायाँ राई नागरिकताविहीन हुनु भएको थियो । राज्यबाट पाउने सामाजिक सुरक्षा र बैकिङ्क प्रणालीका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय हुँदा नयाँ नागरिकता नबनाइ नहुने अवस्थामा इन्सेकको पहलपछि सुख मायाँ राईले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भएको हो ।
आठ वर्षको हुँदा बाबुआमा बितेर तीनपुस्ताभित्रका सदस्यको घरमा बस्दै आउनु भएकी सुख मायाँ राईलाई सशस्त्र द्वन्द्व अगाडि नै घुम्ती टोलीले नागरिकता बनाइदिएको भएपनि सशस्त्र द्वन्द्वका क्रममा जिल्ला प्रशासन कार्यालयमा आगजनी गरिएपछि सरकारी अभिलेखबाट सुख मायाँ राईका सबै विवरण मेटिएका थिए ।

नयाँ नागरिकता प्राप्तिका लागि साकेला गाउँपालिका–२ वडा कार्यालयबाट सर्जिमिन मुचुल्का, नाता प्रमाणितालगायतका कार्य गर्नुपर्ने भएकाले सुख मायाँ राईका तिनपुस्ते भित्रका भाइ राजन राईले इन्सेक खोटाङ स्रोत व्यक्तिलाई आवश्यक सहयोग गरीदिन आग्रह गर्दै ०८३ जेठ २६ गते निवेदन दिनु भएको थियो ।
साकेला गाउँपालिका–२ का वडाध्यक्षलाई इन्सेकले जेठ २७ गते नागरिकता र राष्ट्रिय परिचयत्र नभएकै कारण अविवाहित र ज्येष्ठ नागरिक महिलाले राज्यबाट पाउने सामाजिक सुरक्षाबाट वञ्चित हुनु परेकाले नागरिकता बनाइदिन आग्रह गर्दै निवेदन दिएको थियो ।

इन्सेकको पहल र आग्रहपछि साकेला गाउँपालिका–२ वडा कार्यालयले सुख मायाँ राईलाई धनबहादुर राईको छोरी भनि जेठ २७ गते नाता प्रमाणित गरिदिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले इन्सेकको पहल र समन्वयमा सुख मायाँ राईलाई ६० वर्षको उमेरमा ०८३ जेठ २८ गते नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र नम्वर उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले बताउनु भयो ।
साकेला गाउँपालिका–२ रतन्छाका वडाध्यक्ष दीपेन्द्रकुमार राईले इन्सेकको समन्वय र पहलमा सुख मायाँ राईले नयाँ नागरिकतासँगै राष्ट्रिय परिचयपत्र नम्वर पाएकाले अब उहाँलाई अविवाहित र ज्येष्ठ नागरिक सुरक्षा भत्ता प्रदान गरिने बताउनु भयो ।
नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ ।
धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।



