INSEC Online

प्रधानाध्यापक धामी मृत्यु प्रकरण: अदालतमा बयान सुरु भएसँगै पीडित परिवार आन्दोलित

ब्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणले उग्र रूप लिएको छ । गिरफ्तार गरिएका आठ जना आरोपितहरूको जिल्ला अदालत दार्चुलामा बयान सुरु भएसँगै पीडित परिवार आन्दोलित बनेका छन् ।

मृतक धामीको न्यायका लागि गठित ‘संयुक्त संघर्ष समिति’ ले जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत ध्यानाकर्षण गराउँदै १२ बुँदे मागपत्र बुझाएको छ । बसपार्क खलंगाबाट निस्किएको विरोध जुलसले जिल्ला प्रशासन कार्यालय दार्चुलामा सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीलाई माग पत्र बुझाएका छन् ।

पीडित परिवारलाई न्याय नहुने अवस्था आउन सक्ने भन्दै सचेत गराएको उनीहरुले जनाएका छन् । स्थानीय चन्द्रसिंह धामीका अनुसार “निष्पक्ष, तठस्थ छानबीन हुन नसक्ने हो कि भन्ने आंशका हामीलाई छ ।” पीडितलाई न्याय दिलाउन कुनै बाधा नहोस् भन्नको लागि आन्दोलनमा उत्रिएका हौं, उहाँले भन्नुभयो ।

जिल्ला अदालत दार्चुलाले कानुन, प्रमाण र न्यायको आधारमा फैसला गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “यदि पर्याप्त आधार र प्रमाण हुँदाहुँदै दोषिलाई धरौटी वा सामान्य प्रकृयामा उन्मुक्ति दिने प्रयास गरियो भने त्यसको सम्पूर्ण नैतिक र कानुनी जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्छ ।”

के हो घटना ?

मालिकार्जुन गाउँपालिका–२ घर भई व्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापक बलदेवसिह धामी ०८३ जेठ ४ गते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । मृत्युअघि उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई बलात्कार र भ्रष्टाचारजस्ता झुट्टा आरोप लगाएर योजनाबद्ध रूपमा फसाउन खोजिएको उल्लेख गर्दै केही व्यक्तिहरूको नाम सार्वजनिक गरेका थिए ।

त्यसअघि उनले सार्वजनिक गरेको नोटमा मानसिक तनाव दिएको, अनावश्यकरूपमा चरित्र हत्या गरेको, धम्की तथा असह्य दबाब दिएको भन्दै शिक्षकसहित आठ जनाको नाम लेखेका थिए । सोहीलाई आधार बनाउँदै आठ जनालाई गिरफ्तार गरेको थियो ।

उनीहरुलाई जेठ ५ गते गिरफ्तार गरेर अनुसन्धान थालिएको थियो ।  गिरफ्तार पर्नेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रमसिंह कुँवर, महाकाली नगरपालिका–२ का ५२ वर्षीय दलिदत्त भट्ट, महाकाली नगरपालिका–५ का ४२ वर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ वर्षीय प्रमानन्द भट्ट, सोही ठाउँकै ३९ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्रदत्त भट्ट, ५९ वर्षीय हरिदत्त भट्ट र बैतडी जिल्ला पाटन नगरपालिका–४ का पुष्करराज भट्ट छन् ।

यीमध्ये प्रमानन्द भट्ट दार्चुलाकै एक विद्यालयका प्रधानाध्यापक हुन् भने दलिदत्त, पदमराज, हरि, पुष्करराज सम्माल माध्यमिक विद्यालयका शिक्षक हुन । यस्तै गिरफ्तार गरिएका नरेन्द्र भट्ट नेपाली कांग्रेस व्याँसका पार्टी सभापति र खेमराज भट्ट ठेकेदार हुन् ।

उनीहरुको ०८३ असार १ गतेदेखि जिल्ला अदालत, दार्चुलामा बयान सुरु भएको छ । जिल्ला अदालत, दार्चुलाका श्रेस्तेदार मदनप्रसाद जयसवालले पहिलो दिन तीन जनाको बयान सकिएको जानकारी दिनुभयो । बयान लिने क्रम जारी रहेको छ ।

संघर्ष समितिले घटनामा संलग्न भनिएका सम्पूर्ण व्यक्तिहरूमाथि स्वतन्त्र र निष्पक्ष छानबिन गरिनु पर्ने माग गरेका छन् । मुख्य आशंका गरिएका व्यक्तिहरू मध्ये विशेष रूपमा तीन/चार जनालाई अलग्गै राखेर वैज्ञानिक विधिबाट अनुसन्धान अगाडि बढाउन समितिले माग गरेको छ ।

घटनाको सत्यतथ्य लुकाउने, प्रमाण नष्ट गर्ने, अनुसन्धान प्रभावित पार्ने वा दोषीलाई संरक्षण गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिनु पर्ने भन्दै जिल्ला अदालत, दार्चुलाले कानुन, प्रमाण र न्यायको आधारमा मात्र फैसला गर्न माग गरेका छन् । कानुनी रुपमा पर्याप्त आधार हुँदाहुँदै दोषीलाई धरौटी वा सामान्य प्रक्रियाबाट उन्मुक्ति दिन खोजिए त्यसको नैतिक र कानुनी जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने समेत संघर्षसमितिले चेतावनी दिएको छ ।

यस्तै अभियुक्तहरूमाथि हालसम्म भएको अनुसन्धान, संकलन गरिएका प्रमाण र अनुसन्धानको अवस्था बारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनु पर्ने, मृतकको साथबाट बरामद गरिएको मोबाइल, डायरी, ल्यापटप लगायतका सामग्री कहाँ छन् ? तिनको परीक्षणबाट के ? तथ्य फेला प¥यो, सो विवरण सार्वजनिक गर्नु पर्ने माग छ ।

घटनासँग सम्बन्धित कल डिटेल, म्यासेज, सामाजिक सञ्जालका गतिविधि र अन्य प्राविधिक प्रमाणहरूको सूक्ष्म अनुसन्धान गर्दै, अनुसन्धानका क्रममा कुनै पनि राजनीतिक, आर्थिक वा प्रशासनिक दबाब स्वीकार्य नहुने चेतावनी दिइएको छ ।

उनीहरुले पीडित परिवारलाई न्याय दिलाउने प्रक्रियामा ढिलासुस्ती, लापरबाही वा पक्षपात देखिएमा त्यसविरुद्ध थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् । पीडित परिवारको मागहरूलाई बेवास्ता गरिए वा जानकारी दिन आनाकानी गरिए चरणबद्ध आन्दोलन, घेराउ, धर्ना र विरोध सभाहरू सञ्चालन गर्ने जनाएको छ ।

पीडितको माग सुनुवाइ नहुने अवस्था आएमा आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने अप्रिय अवस्था, जनधनको क्षति वा सार्वजनिक असन्तुष्टिको सम्पूर्ण जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत, दार्चुलाले लिनुपर्ने उनीहरुको माग छ ।

मृतक बलदेवसिंह धामीलाई न्याय दिलाउन सम्पूर्ण नागरिक समाज, पत्रकार, बुद्धिजीवी, राजनीतिक दल, मानव अधिकारकर्मी तथा आम जनसमुदायलाई संघर्ष समितिले सहयोगको आग्रह गरेका छन् ।

अदालतमा बयान सुरु भएसँगै मुद्दालाई कमजोर बनाउन राजनीतिक तथा प्रशासनिक दबाब आउन सक्ने आशंका पीडित पक्षको छ । “मर्नुअघि प्रधानाध्यापक धामीले ‘सुसाइट नोट’ मा भनेजस्तो आंशका हामीलाई पनि छ,” चन्द्रसिंह धामीले भन्नुभयो, “यस्तो अवस्था हो भने हामी न्यायको लागि जुनसुकै आन्दोलन गर्न तयार छौं ।”

संघर्ष समितिले आफ्नो स्पष्ट अडान राख्दै ज्ञापन–पत्रमा भनेका छन्, “निष्पक्ष छानबिन, दोषीलाई कारबाही र बलदेव सिंह धामीलाई न्याय, यही हाम्रो अन्तिम लक्ष्य हो । न्याय नपाएसम्म आन्दोलन रोकिने छैन ।”

यसअघि नै जिल्लास्थित प्रधानाध्यापक संघ र प्याब्सनले विद्यालयहरू बन्द (पेन डाउन) गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाइसकेका छन् ।

 

नरेन्द्रसिह कार्की

अन्य

भिडियो