INSEC Online

📅 २०८३ जेष्ठ २७

वल्डिङ सेवा अवरुद्ध हुँदा वडा कार्यालयका सेवा ठप्प

खार्पुनाथ गाउँपालिका–१ लालीमा जडान गरिएको इन्टरनेट सेवा एक सातादेखि अवरुद्ध हुँदा वडा कार्यालयबाट प्रदान गरिने अनलाइन सेवाहरू प्रभावित भएका छन्। इन्टरनेट सेवा बन्द भएपछि जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाइँसराइ लगायतका पञ्जीकरण सम्बन्धी सेवा ठप्प बनेका हुन्। वडा नम्बर १ का अध्यक्ष जयबहादुर शाहीका अनुसार इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीय नागरिकहरू सामान्य प्रशासनिक कामका लागि समेत गाउँपालिका केन्द्र याङ्चु बजार पुग्न बाध्य भएका छन्। त्यहाँ पुग्न स्थानीयले करिब तीन घण्टा पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।

‘वडामा सेवा सञ्चालनका लागि आवश्यक वातावरण भए पनि इन्टरनेट नहुँदा सबै काम रोकिएको छ,’ अध्यक्ष शाहीले भन्नुभयो, ‘समस्या समाधानका लागि सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ भएको छैन।’

पालिकाबाट पञ्जीकरण सम्बन्धी काम सम्पन्न गरेपछि हस्ताक्षरका लागि पुनः वडा कार्यालयमै आउनुपर्ने बाध्यता हुँदा सेवाग्राहीले थप सास्ती खेप्नुपरेको स्थानीय पदमबहादुर शाहीले गुनासो गर्नुभयो ।

खार्पुनाथ गाउँपालिका–३ राया स्थित थानामा रहेको नमस्ते टावर समेत एक सातादेखि बन्द रहेको स्थानीयले बताएका छन्। टावर सञ्चालनमा नहुँदा त्यस क्षेत्रको सञ्चार सेवा समेत प्रभावित बनेको छ। स्थानीयका अनुसार समस्या समाधानका लागि नेपाल टेलिकम सिमकोटलाई जानकारी गराइएको भए पनि हालसम्म आवश्यक पहल हुन सकेको छैन। इन्टरनेट र सञ्चार सेवा दुवै अवरुद्ध हुँदा प्रशासनिक कार्यसँगै सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर परेको वडा अध्यक्ष शाहीले बताउनु भयो । स्थानीयवासीले सम्बन्धित निकायको बेवास्ताका कारण खार्पुनाथ गाउँपालिका–१, २ र ३ का करिब ५ हजार रुपियाँभन्दा बढी सेवाग्राही सेवा सुविधाबाट वञ्चित भएको बताएका छन्। उनीहरूले अवरुद्ध इन्टरनेट तथा सञ्चार सेवा तत्काल मर्मत गरी नियमित सञ्चालनमा ल्याउन सरोकारवाला निकायसँग माग गरेका छन्।

नन्द सिंह

अन्य

भिडियो