INSEC Online

📅 २०८३ जेष्ठ २१

सीमा विवादको असरः धुलाचौरमा दुई दिनदेखि सयौँ यात्रु अलपत्र

हुम्ला र बाजुराको सीमामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर उत्पन्न विवादपछि बाजुराको धुलाचौर क्षेत्रमा सयौँ हुम्ली यात्रु दुई दिनदेखि अलपत्र परेका छन् । ०८३ जेठ ५ गते बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा हुम्ला र बाजुराका स्थानीयबीच भएको झडपपछि बाजुरातर्फका स्थानीयले हुम्लातर्फ जाने सवारीसाधन सञ्चालन अवरुद्ध गरेका हुन् । त्यसपछि काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत विभिन्न सहरबाट हुम्ला फर्किरहेका यात्रुहरू धुलाचौरमा रोकिएका छन् ।

अलपत्र परेका यात्रु चन्द्रसिंह कार्कीका अनुसार कर्णाली करिडोरअन्तर्गत धुलाचौर क्षेत्रमा सयौँ सवारीसाधन र करिब २ सयभन्दा बढी यात्रु रोकिएका छन् । उनका अनुसार हुम्लाबाट आएको थाहा पाएपछि स्थानीय होटल तथा पसलहरूले खाना, पानी र खाजासमेत दिन नमानेको गुनासो यात्रुहरूले गरेका छन् । ‘दुई जिल्लाबीचको विवादले हामीजस्ता सर्वसाधारण नागरिकले दुःख पाएका छौँ,’उहाँले भन्नुभयो ।

 जिल्ला भित्रिने र बाहिरिने यात्रु समस्यामा पर्दासमेत सम्बन्धित निकायले चासो नदिएको उहँको गुनासो छ । अलपत्र यात्रुमा वृद्धवृद्धा, बालबालिका, महिला, विद्यार्थी र बिरामीसमेत रहेका छन् । हुम्ला प्रवेश गर्न नदिएपछि धेरै यात्रु दुई दिनदेखि भोकभोकै बस्न बाध्य भएको उनीहरूको भनाइ छ ।

धुलाचौर क्षेत्रमा हुम्लाका नागरिकले सञ्चालन गरेका केही पसल समेत बन्द गराइएको स्थानीयले बताएका छन् । विरोध स्वरूप केही स्थानमा टायर बालिएको छ । यसअघि लाम्पाटामा भएको झडपमा परी पेमागारा गुरुङ, लक्ष्मी गुरुङ, मीन कुँवर र नरबहादुर गुरुङ घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि जेठ ६ गते सुर्खेत पठाइएको छ । झडपमा प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापासमेत घाइते भएका थिए ।

हुम्लाको नाम्खा, ताँजाकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णयपछि विवाद सुरु भएको हो । स्थानीयका अनुसार चौकी निर्माणका लागि प्राविधिक टोली पुगेपछि हुम्लाका स्थानीयले ‘कवाडी खोलाभन्दा वारिपट्टि संरचना बनाउन खोजिएको भन्दै विरोध जनाएका थिए । त्यसपछि दुवै पक्षबीच ढुङ्गामुढा र झडप भएको थियो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सडक अवरोध हटाउन पहल भइरहेको बताउनु भयो । ‘सडक अवरुद्ध गर्नु कुनै पनि हिसाबले उचित होइन,’उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि माथिल्लो निकायसँग समन्वय भइरहेको छ ।’

नन्द सिंह

अन्य

भिडियो