नवयुवा पुस्ताको प्रदर्शनका क्रममा सुनसरीको रामधुनी नगरपालिका–५ मा रहेको क्षत्रीय कारागार कार्यालय, झुम्काबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
झुम्का कारागारबाट फरार भएका मोरङको धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय सतन पासवानलाई ०८३ जेठ ३ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेले बताउनु भयो ।
जिल्ला अदालत मोरङले ज्यान मार्ने उद्योग र डाँका मुद्दामा १० र चोरी मुद्दामा ९ गरेर १९ वर्ष कैद सजाय तोकेपछि झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका पासवान नवयुवा पुस्ताको प्रदर्शनको क्रममा ०८२ भदौ २४ गते फरार भएको झुम्का कारागारका प्रशासक सुवास लामिछानेले बताउनु भयो ।
अदालतको फैसलापछि कारागारबाट भागेर जहदास्थित घरमै लुकिछिपी बसिरहेको अवस्थामा पासवानलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा परेका पासवानलाई जेठ ४ गते जिल्ला अदालत मोरङमा पेश गरी सोहीदिन कैद सजाय भुक्तानका लागि जिल्ला कारागार कार्यालय, मोरङ पठाइएको छ ।