INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक कुटपिट घटनाका आरोपित गिरफ्तार

अङ्क र अक्षर लेख्न नजानेको आरोपमा चार वर्षीय बालकलाई १८ भाटा कुटपिट गरेको आरोपमा प्रहरीले सुमित्रा सेन्दाङलाई ०८३ जेठ १ गते गिरफ्तार गरेको छ ।

फिदिम नगरपालिका–१४ भञ्याङस्थित न्यू लुङ्गरूपा बोडिङ्ग स्कूलमा एल केजीमा पढ्ने चार वर्षीय बालकलाई अङ्क र अक्षर लेख्न नजानेको आरोपमा वैशाख ३० गते कुटपिट गरेको आरोपमा प्रहरीले सेन्दाङलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र साहले बताउनु भयो ।

आरोपितविरुद्ध बालबालिका कसुर मुद्दामा अनुसन्धानका लागि जेठ २ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको इन्स्पेक्टर साहले बताउनु भयो ।

कुटपिटबाट पीडितको ढाटमा निलडाम देखिएपछि पीडित परिवारले जेठ १ गते उपचारका लागि गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो ।

बालकलाई अस्पताल भर्ना गरिएपछि कुटपिट भएको समाचार सार्वजनिक भएको थियो ।

आरोपित शिक्षकलाई विद्यालयबाट निस्काशन गरिएको र पीडित बालकको उपचार खर्च व्योहोर्ने विद्यालय सञ्चालक संयोग सारु मगरले बताउनु भएको छ ।

विद्यालय जान नमानेको र खाना खान मन नगरेपछि फकाएर सोधपुछ गर्दा मिसले कुटपिट गरेको भनि छोराले बताएको पीडित बालिकाकी आमा सावित्रा नेम्वाङले बताउनु भएको छ ।

घटनाका विषयमा फिदिम नगरपालिका १४ का वडाध्यक्ष राजकुमार नेम्वाङले ०८३ जेठ १ गते सबैभन्दा पहिले सूचना दिएको प्रहरीले जनाएको छ ।

इवारा जवेगु लिम्बू

अन्य

भिडियो