INSEC Online

📅 २०८३ जेष्ठ २१

डोजर आतंकविरुद्ध बुटवलमा सुकुम्वासीको प्रदर्शन

सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका लालपुर्जाविहीन बस्तीहरूमा वैकल्पिक व्यवस्था नगरी डोजर चलाएको भन्दै सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा ०८३ जेठ ३ गते बुटवलमा प्रदर्शन गरिएको हो । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, बसपार्क, हस्पिटललाइन हुँदै ट्राफिक चोक पुगेर सभामा परिणत भएको थियो ।

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले वैकल्पिक व्यवस्थाविनै गरिब सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठीबास लगाउने कार्य गरेको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार संघर्ष समितिले जेठ ४ गते बुटवलमा सम्मेलन आयोजना गरेको छ ।

प्रदर्शनमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उल्लेखनीय बसोबास रहेका २२ जिल्लाबाट ठूलो संख्यामा सहभागीहरू उपस्थित भएका थिए । प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए भने प्रशासनले सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

संघर्ष समितिका अनुसार प्रदर्शनपछि आयोजित सभामा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी आन्दोलनलाई सशक्त बनाउने तयारी गरिएको छ । प्रदर्शनमा ३० हजारभन्दा बढी सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सहभागी भएको आयोजकले जनाएको छ ।

संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले भरपर्दो वैकल्पिक व्यवस्था नगरी देशभरका १२ लाखभन्दा बढी घरपरिवारका करिब ५० लाख नागरिकमाथि मानवअधिकार उल्लंघन हुने गरी “डोजर आतंक” मच्चाइएको आरोप लगाउनुभयो ।

प्रदर्शनमा सहभागी गीता थापाले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकको घरमा डोजर चलाइँदा हजारौँ परिवार मानसिक पीडामा परेको बताउँदै सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो ।

संघर्ष समितिका सचिव रामचन्द्र भट्टराईका अनुसार जेठ ४ गते हुने सम्मेलनमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्याको न्यायोचित समाधानका विषयमा विज्ञहरूसहित छलफल गरी ठोस निष्कर्ष निकालिनेछ । साथै सातै प्रदेशको प्रतिनिधित्व रहने गरी राष्ट्रियस्तरको संघर्ष समिति गठन गरेर सरकार तथा प्रमुख राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिने उहाँले जानकारी दिनुभयो ।

संघर्ष समितिको आन्दोलनलाई नेपाल कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा माओवादीसहित रुपन्देहीका १२ राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएको सचिव भट्टराईले बताउनुभयो ।   

रीमा बी.सी.

अन्य

भिडियो