कोहलपुर नगरपालिकाले सुकुम्वासी बस्ती हटाउन दिएको सूचनापछि आयोजित विरोध जुलुसमा विद्यालय पोशाकमा बालबालिकालाई सहभागी गराइएको घटना सार्वजनिक भएको छ।
अव्यवस्थित भूमिहीन तथा सुकुम्वासीको संयुक्त सङ्घर्ष समन्वय समितिको आह्वानमा ०८३ वैशाख २२ गते कोहलपुरस्थित इलाका प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण विरोध र्याली निकालिएको थियो। र्यालीमा सहभागीहरू ब्यानर र प्लेकार्डसहित आएका थिए। सो क्रममा विद्यालय जाने उमेरका साना बालबालिकालाई विद्यालय पोशाकमै जुलुसमा सहभागी गराइएको थियो ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएपछि यसप्रति चासो र चिन्ता व्यक्त गरिएको छ। जानकारहरूका अनुसार बालबालिकालाई आन्दोलनमा अग्रभागमा राखेर प्रयोग गर्नु मनोवैज्ञानिक र सुरक्षाका दृष्टिले हानिकारक हुनसक्छ। साथै, “बालबालिका शान्ति क्षेत्र हुन्” भन्ने अवधारणासमेत यसले कमजोर बनाउने उनीहरूको भनाइ छ।
नेपाल सरकारको निर्देशनअनुसार कोहलपुर नगरपालिकाले बस्ती खाली गर्न १० दिने सूचना जारी गरेको थियो। सोही विषयलाई लिएर निकालिएको विरोध जुलुसमा बालबालिकाको सहभागिताले आम जनमानसमा थप चिन्ता बढाएको स्थानीयवासीहरूको प्रतिक्रिया छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख राजकुमार राजभण्डारीले बालबालिकाको प्रयोग गरिएको विषय गम्भीर भएको उल्लेख गर्दै र्यालीका आयोजकलाई आवश्यक कानुनी कारबाही गरिने बताएका छन्।
र्याली विभिन्न बस्तीबाट सुरु भई कोहलपुर चौराह हुँदै इलाका प्रहरी कार्यालय अगाडि पुगेको थियो।
कानुनी प्रावधानअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ मा बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्न नपाइने उल्लेख छ। त्यस्तै, बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७, ८ र ६६ अनुसार बालबालिकाको अधिकार उल्लंघन हुने यस्ता कार्य गर्नेलाई तीन वर्षसम्म कैद वा ७५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ।