INSEC Online

📅 २०८३ जेष्ठ २१

पहाडी जिल्लामा पनि औलोको जोखिम उत्तिकै

पहाडी जिल्लाहरुमा पनि औलो (मलेरिया) को जोखिम कायम रहेको देखिएको छ। पाल्पा जिल्ला अहिले प्रत्यक्ष प्रकोपबाट मुक्तजस्तै देखिए पनि संक्रमणको जोखिम भने अझै टरेको छैन। विशेषगरी सिमापारि भारतबाट फर्कने मजदुरहरूसँगै आउने आयातित संक्रमणका कारण जोखिम उच्च रहिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाभित्र स्थानीय स्तरमा लामखुट्टेको टोकाइबाट सर्ने औलोको दर शून्य छ। तर बाहिरबाट संक्रमण बोकेर आउने बिरामीहरूले भने सतर्कताको आवश्यकता देखाइरहेका छन्। कार्यालय प्रमुख टुकप्रसाद पोखरेलका अनुसार औलो परीक्षणको दायरा विस्तार गरिएको छ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४ हजारभन्दा बढीको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि परीक्षणको संख्या बढेसँगै संक्रमितको संख्या पनि बढेर ११ पुगेको थियो। चालु आर्थिक वर्षको चैतसम्म ३ हजारभन्दा बढी परीक्षण गरिँदा २ जनामा संक्रमण देखिएको छ। पछिल्ला तीन वर्षमा भेटिएका २० जना संक्रमितमध्ये सबैजना भारतबाट आएका आयातित बिरामी रहेको कार्यालयले जनाएको छ।

यस अवस्थाले पाल्पाको स्वास्थ्य प्रणाली प्रभावकारी देखिए पनि जोखिम भने कायम रहेको संकेत गर्छ। खुला सीमा, रोजगारीका लागि हुने आवतजावत तथा जनचेतनाको स्तरले संक्रमण भित्रिने सम्भावना सधैं रहने विज्ञहरूको भनाइ छ।

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईका अनुसार एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने गर्दछ। यसका प्रमुख लक्षणमा कामज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पसिना आएपछि ज्वरो घट्ने रहेका छन्।

समयमै उपचार नभए औलोले कलेजो, फियो र मस्तिष्कमा समेत असर पु¥याउन सक्छ। त्यसैले ज्वरोलाई सामान्य ठानेर बेवास्ता गर्नु जोखिमपूर्ण हुने चिकित्सकहरूको सुझाव छ। सबै सरकारी स्वास्थ्य संस्थामा औलो परीक्षण तथा औषधि निःशुल्क उपलब्ध रहे पनि समयमै परीक्षण गराउने बानी, सचेतना र सतर्कता अझै महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो