विद्यार्थी सङ्ख्या न्यून भएपछि कानेपोखरी गाउँपालिकाका दुई ओटा सामुदायिक विद्यालय बन्द गरिएको छ । विद्यार्थी सङ्ख्या अपुग भएपछि तीन ओटा विद्यालयको कक्षा घटाइएको छ ।
कानेपोखरी गाउँपालिका–१ को सिद्धार्थ आधारभूत विद्यालय र वडा नं.४ को थानेश्वर आधारभूत विद्यालय विद्यार्थी सङ्ख्या न्यून भएपछि बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताउनु भयो ।
कानेपोखरी गाउँपालिका–३ को लक्ष्मी आधारभूत विद्यालय, वडा–४ को पञ्चकन्या आधारभूत विद्यालय र वडा–६ को सुन्तोली आधारभूत विद्यालयबाट कक्षा ४ र ५ हटाइएको छ ।
थानेश्वर आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म जम्मा ६ जना विद्यार्थी थिए । एक शिक्षक दरबन्दी र एक बालविकास शिक्षक रहेको उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सोही वडाको जनता आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।
थानेश्वर आविमा कक्षा ५ सम्म स्वीकृति भए पनि ३ कक्षासम्म पढाइ भइरहेको थियो ।
नौ जना विद्यार्थी रहेको कानेपोखरी गाउँपालिका–१ को सिद्धार्थ आधारभूत विद्यालय सोही वडाको श्री माध्यमिक विद्यालय होक्लाबारीमा समायोजन गरिएको छ । बालविकासदेखि कक्षा ५ सम्म पढाइ भइरहेको उक्त विद्यालयका तीन जना शिक्षक र दुई जना बालविकास कर्मचारीलाई पनि श्री माध्यमिक विद्यालय, होक्लाबारीमा समायोजन गरिएको छ ।
कानेपोखरी गाउँपालिका–३ को लक्ष्मी आधारभूत विद्यालय र वडा–४ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ४ र ५ को शिक्षण व्यवस्था हटाइएको छ ।
लक्ष्मी आधारभूत विद्यालयमा दुई ओटा कक्षामा जम्मा ६ जना विद्यार्थी थिए भने पञ्चकन्या आधारभूत विद्यालयका दुई ओटा कक्षमा नौ जना विद्यार्थी थिए । लक्ष्मी आधारभूत विद्यालयका तीन जना शिक्षक र दुई जना बालविकास कर्मचारीमध्ये एक दरबन्दीसहित ६ जना विद्यार्थीलाई सोही वडाको बाल माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । पञ्चकन्या आधारभूत विद्यालयको एक जना शिक्षक दरबन्दीसहित नौ जना विद्यार्थीलाई बाल माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
कानेपोखरी गाउँपालिका–६ को दहिधापस्थित सुन्तोली आधारभूत विद्यालयबाट पनि कक्षा ४ र ५ अध्ययन हुने व्यवस्था हटाइएको छ । त्यहाँ कक्षा ४ मा तीन जना र कक्षा ५ मा दुई जना विद्यार्थी थिए । उक्त विद्यालयको एक शिक्षक दरबन्दी र पाँच जना विद्यार्थीलाई सोही वडाको पञ्चज्योति आविमा समायोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव तथा शिक्षा शाखा अधिकृत चूडामणि रेग्मीसहितको शिक्षा समितिको ०८२ जेठ १३ गतेको बैठकले विद्यालय समायोजन तथा एकीकरण गर्ने निर्णय गरेको थियो ।
समितिले शैक्षिक सत्र ०८३ सालदेखि प्रत्येक कक्षामा कम्तीमा १० जना विद्यार्थी अनिवार्य हुनुपर्ने व्यवस्था गर्ने निर्णय गरेको छ । कानेपोखरी गाउँपालिकाभित्र २१ ओटा सामुदायिक विद्यालय छन् ।