INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’को आरोपमा अमानवीय व्यवहार

कटरिया नगरपालिका–९ की पूर्व महिला वडा सदस्य ५५ वर्षीया अकलिया देवी मुसहरिनलाई ‘बोक्सी’को आरोपमा अभक्ष खुवाएर अमानवीय व्यवहार गरेको पीडितले आरोप लगाएकी छन् ।

छिमेकी पुकार माझिको घरमा ०८३ वैशाख १९ गते साँझ विवाहमा पर्सा जिल्लाबाट आएका जन्तीमध्ये १० वर्षीय बालक समिर माझीले वान्ता गरेपछि अकलिया देवीमाथि जादु टुना गरेको आरोप लगाई स्थानीय ३५ वर्षीय पुकार माझी, ४० वर्षीय राजेन्द्र माझीे, ३८ वर्षीया लक्ष्मी माझी, ३२ वर्षीय शंकर माझी, ४५ वर्षीय सुरेन्द्र ठाकुर र ३० वर्षीय गौरी शाहले अभक्ष खुवाएर अमानवीय व्यवहार गरेको पीडितले बताइन् ।

‘बोक्सी’को आरोप लगाउँदै आमालाई आरोपितहरुले बियरको बोतलमा अभक्ष घोली जबरजस्ती खुवाएको पीडितकी ३० वर्षीय छोरी सुमिला देवी मुसहरिनले बताउनु भयो । आमालाई दुर्व्यवहार नगर भनेर विरोध गर्दा आरोपितहरुले आफूलाई पनि कुटपिट गरेको सुमिला देवीले बताउनु भयो ।

घटनापछि इलाका प्रहरी कार्यालय कटरियाका प्रहरी नायव निरीक्षक (सई) मोहन आले मगरको नेतृत्वमा गएको प्रहरी टोलीले अचेत अवस्थामा रहेकी अकलिय देवीलाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचारका लागि पठाएको र उपचारपछि पीडितको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आरोपितहरूलाई गिरफ्तार गर्न गएको प्रहरी टोलीलाई आक्रमणको प्रयास गरेको र आरोपितहरू फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकर आचार्यले जानकारी गराउनु भएको छ ।

गौरी न्यौपाने

अन्य

भिडियो