बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवानको जनकपुरधाम उपमहानगरपालिका–९ स्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा पत्थरीको शल्यक्रिया पश्चात मृत्यु भएपछि पीडित परिवारले उपचारमा लापरबाही भएको आरोप लगाउँदै ०८३ वैशाख १७ गते शल्यक्रियामा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनमाथि कारबाहीको माग गर्दै अस्पतालमा तोडफोड गरेका छन्।
मृतकका ससुरा दयाराम पासवानका अनुसार वैशाख ७ गते बिरामीलाई अस्पतालमा स्वास्थ्य जाँचका लागि ल्याइएको र सर्जन डा. अमरेश कर्णको सल्लाहअनुसार वैशाख १६ गते भर्ना गरी शल्यक्रिया गरिएको बताए।
१ लाख २५ हजार रुपियाँमा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्ने सहमति भएको थियो तर सहमति विपरीत पेट चिरेर अप्रेसन गरिएको हुँदा चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको पीडीत पक्षले आरोप लगाए।
अस्पतालका सञ्चालक देवेन्द्रप्रसाद यादवले शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेपनि अचानक प्रेसर घटेपछि अवस्था जटिल बनेको बताए । मृतकको परिवारले अस्पतालमा बुझाएको ८० हजार रुपियाँ फिर्ता गरिसकेको जानकारी दिँदै तोडफोडका कारण अस्पतालमा करिब साढे २ लाख रुपियाँ बराबरको क्षति भएको यादवले बताए ।