INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्षदेखि टहरामा पढ्दै विद्यार्थी

अदानचुली गाउँपालिका–६ स्थित पाल्स गाउँमा रहेको कैलाशपुरी माध्यमिक विद्यालयका विद्यार्थीहरू विगत एक वर्षदेखि टहरामा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयको पुरानो जीर्ण भवन भत्काइएपछि काम चलाउ रूपमा जस्तापाता र काठ प्रयोग गरी बनाइएको टहरामा पठनपाठन सञ्चालन भइरहेको हो ।

विद्यालयका दुई वटा भवन जीर्ण भई जोखिमपूर्ण बनेपछि स्थानीय समुदायले ती संरचना भत्काएर अस्थायी टहरा निर्माण गरेका थिए । तर, नयाँ भवन निर्माणका लागि पटक–पटक माग गरिएपनि हालसम्म सम्बन्धित निकायबाट कुनै पहल नभएको अभिभावक गणेश बोहराले गुनासो गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक दलबहादुर बुढाका अनुसार बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थीहरू टहरामै अध्ययन गर्दै आएका छन् । कक्षा ९ र १० का विद्यार्थी भने अर्को जीर्ण भवनमा पढ्दै आएका छन् भने विद्यालयको कार्यालय पनि जीर्ण अवस्थाकै भवनमा सञ्चालन भइरहेको छ ।

टहरामा अध्ययन गर्दा बर्खामा पानी चुहिने र घाम लाग्दा अत्यधिक गर्मी हुने समस्याले विद्यार्थीहरू प्रभावित भएका छन् ।

अदानचुली गाउँपालिका-६ का वडा अध्यक्ष विर्खबहादुर बुढाले एक वर्ष अघि आएको भुकम्पले गरेको क्षतिका कारण विद्यार्थीले टहरामा पठनपाठन गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

अध्यक्ष बुढाका अनुसार गाउँपालिकाले विद्यालय पुनः निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत अदानचुली गाउँपालिकाले ४० लाख रुपियाँ छुट्याए पनि निर्माण हुनका लागि अझै समय लाग्ने देखिन्छ । त्यस्तै गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले विद्यालय निर्माणका लागि छुट्याएको बजेटको सम्झौता गर्ने तयारी भएको बताउनु भयो । तर, एक वर्षदेखि विद्यार्थीहरु टहरामा पढ्दै आएको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् । विद्यालयमा हाल ३ सय २२ जना विद्यार्थी अध्ययनरत छन् ।

 नन्द सिंह

अन्य

भिडियो