मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा रहेको ३० जना क्षमताको बाल सुधार गृहमा क्षमता भन्दा गीन गुणा बालक राखिँदा गम्भीर समस्या देखिएको छ । उक्त सुधार गृहमा हाल ८९ जना बालक रहेका छन्।
करिब ५ कठ्ठा जमिनमा बनेको साँघुरो भवनभित्र २२ जिल्लाबाट आएका बालकहरू पाँचवटा कोठामा कोचिएर बस्दै आएका छन् । सुधार गृहका प्रमुख प्रदीप गौतमका अनुसार अत्यधिक भीडका कारण धेरै बालकहरू भुइँमै सुत्न बाध्य छन् ।
सुधार गृहमा आवासको मात्र नभई आधारभूत सुविधाको समेत अभाव देखिएको छ । खानपान, शौचालय, खेलकुद तथा पुस्तकालय जस्ता आवश्यक सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् ।
भक्तपुरको ठिमीस्थित बालगृहमा भएको विवादपछि सरकारले उपत्यका बाहिरका सुधार गृहहरूमा बालबालिका स्थानान्तरण गर्ने निर्णय गरेको थियो। सोही क्रममा ठिमीबाट ३० जना बालक मकवानपुर ल्याइएको र उनीहरूलाई पुनः फिर्ता नलगेपछि यहाँको चाप बढेको हो ।
हाल सुधार गृहमा रहेका बालकहरूमध्ये ८ जना १८ वर्ष माथिका छन् । मुद्दाका आधारमा हेर्दा बलात्कार घटनाका आरोपित सबैभन्दा धेरै ६२ जना छन् भने कर्तव्य ज्यान मुद्दाका १० जना, लागुऔषधसम्बन्धी मुद्दाका ९ जना र अन्य विभिन्न मुद्दाका बालकहरू समेत यहाँ राखिएका छन्।
क्षमता भन्दा अत्यधिक चापले बाल सुधार गृहको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ भने बालकहरूको आधारभूत अधिकार र सुधार प्रक्रियामा समेत असर पर्ने चिन्ता बढेको छ।