INSEC Online

📅 २०८३ जेष्ठ २१

सुकुम्वासीहरुलाई राखिएको होल्डिङ् सेन्टरको इन्सेकद्वारा अनुगमन

काठमाडौं जिल्लाको थापाथली, गौरी गाउँ र मनोहरा क्षेत्रका सुकुम्वासीहरुलाई राखिएको होल्डिङ् सेन्टर राधास्वामी सत्संग सुन्दरीघाट कीर्तिपुरको इन्सेकले अनुगमन गरेको छ ।

सो सेन्टरमा ५० घरपरिवारका १ सय ३४ जना सदस्यलाई राखिएकोमा महिला ४६, पुरुष ३६, बालबालिका ४७, वृद्ध आमा तीन र बुबा दुई जना रहेको महानगरीय प्रहरी बलका असइ सुरेश देउलाले बताउनु भयो ।

सुरक्षाको लागि महानगरपालिकाले दुई जनाको टोली पालो मिलाएर खटाएको छ भने नेपाल प्रहरीको टोलीले समेत सुरक्षा दिइरहेको छ । सेन्टरमा रहेका व्यक्तिहरुको तीन पुस्ते सम्पत्ति विवरण, बायोमेट्रिक र नागरिकता नम्बरको लगत समेत संकलन गरिएको छ ।

होल्डिङ सेन्टरमा महानगरपालिकाले स्वास्थ्यकर्मीको समेत व्यवस्था गरेको छ । बिरामी, ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिला सबैलाई महानगरपालिकाले एकै किसिमको प्याकेटमा ल्याइएको खाना दिने व्यवस्था गरिएको छ । खाना दुई पटक र दिउँसो चिया र बिस्कुट दिने गरेको आश्रितहरुले बताए । बिरामी, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी वा बालबच्चाको खानपानमा सरकारले कुनै विशेष व्यवस्था गरेको नपाइएको अनुगमनका क्रममा उनीहरुले बताए ।

होल्डिङ सेन्टरमा प्रति परिवार एउटा मेट्रेस उपलब्ध गराइएको भए पनि ओढ्ने ओछ्याउने सामानहरु भने आफ्नै प्रयोग गरेका छन् । एउटा परिवार एकै ठाउँमा कोचिएर बस्नु पर्ने, नुहाएर लुगा सुकाउने ठाउँको अभाव, पुरुषहरुलाई नुहाउनको लागि वाथरुमको व्यवस्था समेत नरहेकोमा उनीहरुले गुनासो गरेका छन् ।

अनुगमन टोलीमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतम, बागमती प्रदेश संयोजक शिव खकुरेल, इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठी र गरिमा बिष्टको सहभागिता रहेको थियो ।

अनलाइनडेस्क

अन्य

भिडियो