उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ६ हजार ५ सय १६ मुद्दामध्ये ४ हजार ६ सय १९ अर्थात् ७०.८८ प्रतिशत मुद्दा फैसला गरेको जनाएको छ । अदालतले ४ हजार ५ सय ४६ मुद्दा फैसला गर्ने लक्ष्य लिएकोमा १०१.६० प्रतिशत उपलब्धिसहित लक्ष्यभन्दा बढी मुद्दा टुंग्याएको छ । न्यायमा नागरिकको पहुँच सुनिश्चित गर्ने, समयमै न्याय प्रदान गर्ने नागरिकको संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन तथा न्यायिक उत्तरदायित्वलाई सुदृढ बनाउने उद्देश्यका साथ अदालतले आर्थिक वर्षभरि भएका कार्यसम्पादन सार्वजनिक गरेको कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले जानकारी दिनुभयो ।
अदालतका अनुसार समीक्षा अवधिमा ६ हजार ५ सय १६ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये ४ हजार ६ सय १९ वटा मुद्दा फैसला भएका छन् भने १ हजार ८ सय ९७ वटा मुद्दा अझै विचाराधीन रहेका छन्। साथै, विगत दुई वर्षभन्दा बढी समयदेखि बाँकी रहेका सबै मुद्दा चालु आर्थिक वर्षभित्रै फैसला गरिएको र पुराना मुद्दाको टुंगो लगाउनु न्यायमा ढिलाइ कम गर्दै न्यायमा नागरिकको प्रभावकारी पहुँच सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो ।
सार्वजनिक गरिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४९.१५ प्रतिशत, २०७९/०८० मा ४४.१७ प्रतिशत, २०८०/०८१ मा ७१.१३ प्रतिशत, २०८१/०८२ मा ६६.०५ प्रतिशत र २०८२/०८३ मा ७०.८८ प्रतिशत मुद्दा फैसला भएका छन्।
अदालतमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएकाले न्याय सम्पादन प्रक्रिया अघिल्ला वर्षको तुलनामा छिटो, प्रभावकारी, पारदर्शी तथा सेवाग्राहीमैत्री बन्दै गएको बताउनुभयो ।
इजलासको कार्यवाही युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्ने अभ्यासबारे अदालत संवेदनशील रहेको उल्लेख गर्दै सम्बन्धित मुद्दाका पक्ष तथा कानुन व्यवसायीको सहमति लिएर मात्र प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था अपनाइएको स्पष्ट पार्नुभयो । खुला न्यायको सिद्धान्त, पारदर्शिता तथा सूचनाको अधिकारलाई सम्मान गर्दै व्यक्तिगत गोपनीयता, न्यायिक निष्पक्षता र संवेदनशील मुद्दामा सम्बन्धित पक्षको अधिकारको संरक्षणलाई समेत समान प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
न्यायमा सबै नागरिकको समान पहुँच, समयमै न्याय प्राप्त गर्ने अधिकार, न्यायिक पारदर्शिता, उत्तरदायित्व र जनविश्वास अभिवृद्धिका लागि उच्च अदालत जनकपुरले आगामी दिनमा पनि कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै जाने मुख्य न्यायाधीश कुँवरको भनाई छ ।