काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत गौरी गाउँमा रहेको सुकुम्वासी बस्ती हटाउने कार्यको इन्सेकद्वारा अनुगमन गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधिद्वारा गरिएको स्थलगत अनुगमनका क्रममा बस्ती हटाउने कार्य व्यवस्थित रूपमा भइरहेको पाइएको छ । अनुगमनका क्रममा सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको र उनीहरूले स्थानीयसँग समन्वय गर्दै कार्य गरिरहेका थिए ।
यसअघि मनोहरा नदी किनार क्षेत्रमा बस्ती हटाउने क्रममा डोजरमाथि ढुंगामुढा प्रहार हुँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब एक दर्जन सुरक्षाकर्मी घाइते भएका थिए । स्थानीयको प्रतिरोधपछि उक्त दिनका लागि काम स्थगित गरिएको थियो ।
सम्बन्धित निकायहरूले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए । बागमती नदी करिडोर निर्माण तथा बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजनाअनुसार उक्त क्षेत्रमा रहेका संरचनाहरू हटाउने कार्य अघि बढाइएको हो ।






