पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२ स्थायी घरभई तिलोत्तमा नपामास्थित शंकरनगरमा बस्ने २९ वर्षीया गीता पाण्डेको ०८३ वैशाख ६ गते गर्भपन गराउने क्रममा मृत्यु भएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले कञ्चनपुर जिल्ला पुर्नरवास नगरपालिका–१ स्थायी घरभई जोनल फार्मेसी सञ्चालक ३० वर्षीय सन्ध्या बस्नेत, स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका–४ स्थायी घरभई इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक ४५ वर्षीय खगेन्द्र पाण्डे र गुल्मी जिल्ला धुर्कोट गाउँपालिका–३ स्थायी घरभई जोनल फार्मेसीमा कार्यरत निलम घर्ती मगरलाई बैशाख ७ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपितहरु विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा वैशाख ८ गते उजुरी दिएका छन् ।
त्यस्तै बुटवल उपमहानगरपालिका– ९ इटाभट्टी खत्री नसिंङ्ग होमका सञ्चालक डा. बिवी खत्री र काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका– ७ चावहिल स्थायी घरभई इन्दुलेखा स्वास्थ्य क्लिनिकमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सतिश रूपाखेती वैशाख ७ गते आफै प्रहरी कार्यालयमा उपस्थित भएको इलाका प्रहरी कार्यालयका डिएसपी निसान्त श्रीवास्तवले बताउनु भयो ।
घटनामा संलग्नहरुलाई तत्काल गिरफ्तार गरी कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै परिवार तथा आफन्तहरुले बुटवल अस्पताल लाइनमा प्रदर्शन गरेका छन् ।
बुटवल ईटाभट्टीस्थित खत्री नर्सिङहोममा नियमित गर्भ जाँच गराइरहेकी पाण्डेलाई चिकित्सकले पेटमा रहेको बच्चा अपाङ्गता र विकलाङ्क रहेकोले गर्भपतन गर्न सुझाव दिएपछि पाण्डे परिवार गर्भपतनका लागि वैशाख ६ गते खत्री मेडिकलमा गएका थिए ।
मृतकका पति प्रकाश पाण्डेले वैशाख ८ गते पत्रकार सम्मेलन गर्दै चिकित्सकको सल्लाह अनुसार नै गर्भपतनका लागि पत्नीलाई बुटवल ल्याइएको भए पनि उपचारकै क्रममा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको बताउदै दोषीमाथि कारबाही र परिवारलाई न्याय दिन आग्रह गर्नुभयो ।
पाण्डेका अनुसार करिब १२ हप्ताको गर्भमा समस्या देखिएपछि वैशाख ६ गते पत्नीलाई लिएर बुटवल आएका थिए । सुरुमा मृतकलाई खत्री नर्सिङ होम इट्टाभट्टीमा लगिएको र त्यहाँ स्वास्थ्यकर्मीले औषधि प्रयोग गरी गर्भपतन गराउने प्रयास गरिएको र सम्भव नभएपछि बुटवल अस्पताल लाइनस्थित जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ पनि औषधि प्रयोग गरेर उपचार गरिएको तर स्वास्थ्य अवस्था झनै गम्भीर बनेपछि लुम्बिनी सिटी अस्पतालमा लगिएकोमा अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
मृत्युको वास्तविक कारण स्पष्ट नभएको भन्दै मृतकका परिवारले उपचारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।
परिवारले उपचार सम्बन्धी कागजात समेत जोनल फार्मेसीले लुकाएको दाबी गर्दै प्रमाण नष्ट हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । मृतकका आफन्तहरूले बैशाख ८ गते ती क्लिनिकहरू घेराउ गरी तालाबन्दी समेत गरेका छन् ।
शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । मृत्युको कारण थाहा नपाउन्जेल, घटनामा संलग्नहरुलाई कारबाही र पीडित परिवारले राहत र क्षतिपूर्ति सहितको न्याय नपाउन्जेलसम्म अगाडी नबढ्ने मृतककी आमाजु दिदी मञ्जु बस्यालले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तबले गिरफ्तार गरिएकाहरुलाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको र “यदि घटनामा कसैको संलग्नता देखिए कारबाहीको दायरामा ल्याइने” बताउनु भयो ।