INSEC Online

📅 २०८३ जेष्ठ २१

सीमा प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

भारतको सिक्किमसँग सीमाना जोडिएको याङवरक गाउँपालिका–१ च्याङथापुमा अवस्थित सीमा प्रशासन कार्यालय पुनः सञ्चालनमा आएको १५ वर्ष बित्दा पनि कर्मचारीको अभावले सेवाग्राहीलाई समस्या हुने गरेको छ ।

द्वन्द्वकालमा विस्थापित भएको सो कार्यालय ०६१ सालमा पुनःस्थापित गरिए पनि कर्मचारी नबस्दा स्थानीय समुदाय सेवा लिन वञ्चित भएका हुन् ।

एक अधिकृतसहित आठ जनाको दरबन्दी रहेको सो कार्यालयमा कार्यालय सहयोगी सन्देश खबासले खोल्ने र बन्द गर्ने बाहेक अन्य कार्य हुन सकेका छैन ।

सो क्षेत्रका स्थानीय समुदाय नेपाली नागरिकताको प्रमाण पत्र, राहदानी बनाउन जिल्ला सदरमुकामसम्म पुग्न पर्ने अवस्था सिर्जना भएको छ ।

भारत आउजाउ गर्न यस कार्यालयले उपलब्ध गराउनु पर्ने सिफारिस पत्र प्रहरी चौकीले दिनु पर्ने बाध्यता छ ।

छिमेकी मुलुक भारतसँग सो क्षेत्रका समुदायको सांस्कृतिक सम्बन्ध जोडिएकाले ओहोरदोहोर गरिरहुनु पर्ने बाध्यता छ ।

सो कार्यालयमा दरबन्दी भएका कम्प्युटर अपरेटर अरुण ठाकुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन् ।

कार्यालयमा कर्मचारीको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरिए पनि कार्यान्वयन नभएको याङववरक गाउँपालिका–१ का वडाअध्यक्ष मोहन ढुङ्गेलले बताए ।

सो कार्यालयमा दरबन्दी भएका कर्मचारीहरू जिल्लामा नआउँदा समस्या भएको तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका थिए । सेवा प्रवाह नगरेपनि सरकारले सो कार्यालयको घरभाडा भने बुझाइरहेको छ ।

अन्य

भिडियो