जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको सात वर्ष बितिसक्दा पनि अझै ठूलो सङ्ख्यामा नागरिक यसको पहुँचबाट बाहिर रहेका छन्। स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका अनुसार कुल २ लाख ४६ हजार ८३६ जनसङ्ख्यामध्ये हालसम्म १ लाख ३२ हजार ४३४ जना (५३.७२ प्रतिशत) मात्रै स्वास्थ्य बीमामा आवद्ध भएका छन् भने ४६.२८ प्रतिशत नागरिक अझै बाहिर छन्।
जिल्लामा २०७६ माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो। तर, कार्यक्रम प्रभावकारी रूपमा विस्तार हुन नसकेको देखिएको छ। अझै पनि धेरै नागरिकमा स्वास्थ्य बीमाको महत्वबारे पर्याप्त जानकारी नहुँदा सहभागिता बढ्न सकेको छैन।
दर्ता सहयोगी मनिषा खत्रीका अनुसार विपन्न तथा गरिब परिवारले वार्षिक प्रिमियम तिर्न नसक्ने अवस्था, सेवा गुणस्तरप्रति असन्तुष्टि र औषधि अभावजस्ता कारणले बीमाप्रति विश्वास घटेको छ। “घर–घरमा जाँदा बीमाबाट राम्रो सेवा नपाइने, आवश्यक औषधि नहुने र गुणस्तरीय सेवा नपाइने गुनासो आउने गरेको छ,” उनले भनिन्। साथै, सरकारबाट प्रभावकारी जनचेतना कार्यक्रम सञ्चालन हुन नसकेको उनको गुनासो छ।
स्थानीय तहअनुसार बीमामा आवद्ध नागरिकको सङ्ख्या पनि फरक–फरक रहेको छ। मुसिकोट नगरपालिकामा ८ हजार २ सय १, कालीगण्डकी गाउँपालिकामा ६ हजार ८ सय ४४, सत्यवती गाउँपालिकामा १६ हजार २ सय २, चन्द्रकोट गाउँपालिकामा ६ हजार ५ सय ७१ र रुरुक्षेत्र गाउँपालिकामा १४ हजार ३ सय ५७ जना बीमामा आवद्ध भएका छन्। त्यस्तै, छत्रकोट गाउँपालिकामा १२ हजार ६ सय ६१, गुल्मीदरबार गाउँपालिकामा १० हजार ५ सय ५९, इस्मा गाउँपालिकामा ७ हजार ९ सय ६७, धुर्कोट गाउँपालिकामा १० हजार ९ सय १३, मदाने गाउँपालिकामा ४ हजार ३० र मालिका गाउँपालिकामा ८ हजार ५ सय ३७ जना नागरिकले स्वास्थ्य बीमा गराएका छन्।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि जिल्लामा दुई जना कर्मचारी र ९४ जना दर्ता सहयोगी कार्यरत छन्। हाल गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रबाट बीमा सेवा प्रदान भइरहेको छ।
गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विभव बस्यालका अनुसार बारम्बार परिवर्तन हुने नीतिका कारण अस्पताल र सेवाग्राही दुवै प्रभावित भएका छन्। उनले चार करोड रुपैयाँभन्दा बढी भुक्तानी अझै हुन नसकेको जानकारी दिँदै सरकारलाई सबै नागरिकलाई अनिवार्य रूपमा बीमामा आवद्ध गराउन र जनचेतना अभिवृद्धिमा जोड दिन आग्रह गरे।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरकारको ध्यान आवश्यक रहेको बताए। “नागरिकको जीवन र स्वास्थ्य राज्यको सबैभन्दा ठूलो पुँजी हो, त्यसैले तीनै तहका सरकार स्वास्थ्य बीमाप्रति जिम्मेवार बन्नुपर्छ,” उनले भने।