इन्सेक पाँचथरको पहलमा हिलिहाङ गाउँपालिका–५ की २२ वर्षीया प्रिती तुम्बापोले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
नागरिकताको प्रमाण पत्र लिनबाट वञ्चित भएको भन्दै आवश्यक सहयोग गरिदिन मङ्सिर २० गते इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा पीडितले निवेदन दिएकी थिइन् ।
फिदिम नगरपालिका–५ निवासी बुबा अटल तुम्बापोले आफ्नो नागरिकताको प्रमाण पत्रको प्रतिलिपी उपलब्ध नगराउँदा नागरिकता लिन समस्या भएको पीडितका पति राजेन्द्र लोवाले बताए ।
उनी नागरिकताको प्रमाण पत्र लिनबाट वञ्चित भएकी थिइन् । पीडितको निवेदन प्राप्त भएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, वडा कार्यालय र तुम्बापो सेवा समाजसँग समन्वय परामर्श गरिएको इन्सेक पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाले जानकारी दिए ।
कान्छी पत्नीबाट जन्मिएकी छोरीको नागरिकता बनाई दिन तुम्बापोले आनाकारी गरेको तुम्बापो सेवा समाजका महासचिव सुवाष तुम्बापोले बताए ।
चौतर्फीवाट दबाब भएपछि उनी नागरिकताको प्रतिलिपी दिन सहमत भएका थिए । कानुनी उपचार भन्दा सम्बन्धित पक्षसँग समन्वय गर्दा सम्बन्ध समेत नबिग्रने हुनाले सोतर्फ पहल गरिएको बेघाले जानकारी दिए ।
तुम्बापोले फागुन १३ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । नागरिकता प्राप्त भएपछि सहयोग गर्ने इन्सेकप्रति उनले धन्यवाद व्यक्त गरिन् ।
“नागरिकता नहुँदा ठूलो समस्या झेलेकी थिएँ । अब हरेक अवसरमा यसको सदुपयोग गर्छु ।”–उनले भनिन्–“यो प्राप्त गर्न सहयोग गर्ने संस्थाप्रति आभारी छु ।”


