INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक परम्परालाई चुनौती दिँदै परिवर्तनको सपना

मुगुका ग्रामीण क्षेत्रहरूमा अझै पनि बालविवाह र छाउपडी प्रथाले गहिरो जरा गाडेको छ। जिल्लाका स्थानीय नेताहरू, सामाजिक अभियन्ता र महिलाहरुको संयुक्त प्रयासले यी प्रथाहरुलाई केही हदसम्म न्युनिकरण गर्दै आएको छ । छायाँनाथ रारा नगरपालिका–१४ का वडाध्यक्ष जुनबहादुर खड्काका अनुसार, पछिल्ला तीन वर्षमा ६२ ओटा बालविवाहका घटना भएका छन् । उहाँका अनुसार, “हामीले बालविवाह र छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्न अभियान चलाइरहेका छौं। कानूनी र सामाजिक दुवै तहबाट यसमा कडा कदम चालिनेछ।”

साथै विवाहको लागि वडाको अनुमति अनिवार्य बनाउने र कुप्रथामा संलग्नलाई सेवा सुविधा बन्द गर्ने योजना बनाएर रोक लाइने खड्काले बताउनु भयो ।

छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँकी २४ वर्षीया जस्मा बडुवाल जसले सानै उमेरमा विवाह गरेकी हुन्, अहिले स्वास्थ्य सम्बन्धी गम्भीर समस्या भोगिरहेकी छन्। १७ वर्ष नपुग्दै विवाह गरेकी उनी अहिले तीन सन्तानकी आमा छिन्। उनको भनाइमा, “सानै उमेरमा वैवाहिक जिम्मेवारी र मातृत्वले मेरो स्वास्थ्यलाई असर गरेको छ, म चिन्तित छु।”

उनी त प्रतिनिधि पात्र मात्रै हुन् । सामाजिक परम्परागत कुसंस्कार र धार्मिक अन्धविश्वासले अझै पनि बालविवाहका कारण मुगुमा प्रजनन स्वास्थ्य समस्या, विशेषगरी पाठेघर खस्ने समस्या (आङ खस्ने) बढ्दो छ भने विद्यालय छोड्ने दर पनि उच्च रहेको छ । मुगु मात्र होइन, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बालविवाहसँगै छाउपडी प्रथाले समेत गहिरो जरो गाडेको छ । धार्मिक अन्धविश्वासकै कारण महिलाहरू शारीरिक मात्र होइन, मानसिक तथा प्रजनन स्वास्थ्य समस्याबाट समेत प्रभावित भइरहेका छन् ।

समाजमा अझै पनि परम्परागत मान्यता र अन्धविश्वासले जरा गाडिएको हुनाले, यी कुप्रथाहरूलाई अन्त्य गर्दै समाजलाई परिवर्तनको दिशातिर लैजान थप जागरूकता र समर्पित प्रयास अझ आवश्यक छ।

नन्दबहादुर रोकाया

अन्य

भिडियो