फतुवा विजयपुर नगरपालिका – ५ सन्तपुर टोलमा रहेको एकदलित परिवारमाथि कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ।
फागुन १९ गते होली पर्वको दिन सामान्य विवादपछि राम परिवार र यादव परिवारबीच भनावन भई कुटपिट भएको थियो। फतुवा विजयपुर- ५ बस्ने ४० वर्षीय भोलेश्वर यादवले सोही ठाउँ बस्ने ५२ वर्षीय गिरिजाराम, २४ वर्षीय ललनराम, २८ वर्षीय नरेशराम, २० वर्षीय राजकुमार राम र १८ वर्षीय छोरी सीताकुमार रामलाई कुटपिट गरी टाउको फुटाइदिएको आरोपमा आरोपित विरुद्ध फागुन २० गते इलाका प्रहरी कार्यालय फतुवा विजयपुरमा उजुरी दिएको इन्सपेक्टर सुरेन्द्र यादवले जानकारी गराउनुभयो।
आरोपित भोलेश्वर यादवले कुटपिट गर्दा पीडित गिरिजाराम लगायत उनकी छोरी सीता कुमारी राम, ललन राम छोरा, नरेश राम र राजकुमार रामको टाउको घाँटी र शरीरमा चोट लागेको हुँदा घाइतेहरूको सोही दिन विजयपुरको नेशनल अस्पतालमा उपचारपछि घर फर्केको र उहाँहरूको अहिलेको अवस्था सामान्य रहेको स्थानीय वीरेन्द्र यादवले बताउनुभयो।
आरोपित यादवको पनि टाउकोमा चोट लागेको थियो । पीडित पक्ष र आरोपित दुवै पक्षलाई फागुन २५ गते इलाका प्रहरी कार्यालय विजयपुरमा छलफलको लागि बोलाएता पनि उपस्थित नभएकोले आरोपितलाई कानुनी बमोजिमको सजाय दिने र पीडित परिवारलाई न्याय दिने इन्सपेक्टर सुरेन्द्र यादवले बताउनुभयो।