INSEC Online

📅 २०८३ जेष्ठ २१

आठ पोका नुनका लागि एक दिन पैदल हिँड्नुपर्ने बाध्यता

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ लाली गाउँकी पुल्तिसरा जैसी अनुदानको नुन किन्न एक दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आउनुभयो । खार्पुनाथ–१ देउखुरीबाट एक दिन पैदल हिँडेर आउनुभएकी उहाँ दिनभर विमानस्थल गेटको लाइनमा उभिनुभयो । आठ पोका नुन लिएर उहाँ घर फर्कनुभयो । उहाँलाई फर्कन थप एक दिन लाग्नेछ । दुई दिन समय लाग्दा पनि उहाँले चाहेजति नुन भने पाउन सक्नुभएन । एक नागरिकताबाट एक जनाले अधिकतम आठ पोका मात्र नुन खरिद गर्न पाउने नियम लागू गरिएको छ ।

हिमाली जिल्लामा चामल र नुनका लागि लाइनमा बस्नुपर्ने बाध्यता बिगतदेखि नै रहेको जैसीले बताउनु भयो । ‘पहिला चामल किन्न यसरी नै लाइन बस्नुपथ्र्यो, अहिले नुन किन्न लाइन बस्नुपर्ने बाध्यता छ,’उहाँले भन्नुभयो ।

पुल्तिसरा मात्रै होइन, खार्पुनाथ–१ देउखुरीकै कृष्णप्रसाद जैसी पनि नुन किन्न लाइनमा उभिनुभएको थियो । उहाँले आठ पोका नुन किन्न दुई दिन खर्चिनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । ‘एक दिन सिमकोट आउन समय लाग्छ, फर्किन पनि त्यति नै समय लाग्छ । आठ पोका नुनका लागि दुई दिन खर्चिनुपर्छ,’उहाँले भन्नुभयो, ‘समयसँगै खान बस्न् लगायतका खर्च पनि उत्तिकै हुन्छ ।’

यस्तै, सिमकोट गाउँपालिका–८ का तुलराज बुढा पनि अनुदानको नुन किन्न तीन–चार घण्टा पैदल हिँडेर सिमकोट आउनुभयो । एउटा नागरिकताबाट आठ पोका मात्रै नुन पाइने व्यवस्था न्योचित नरहेको बताउनु भयो । नुन लिनका लागि दिनभर लाइन बस्नुपर्ने र चाहेको जति खरिद गर्न नपाएकोप्रति स्थानीयले गुनासो गरेका छन् ।

नन्द सिंह

अन्य

भिडियो