लालबन्दी नगरपालिका परवानीपुर निवासी सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेशन म्यानेजर ३२ वर्षीय सोम दियालीलाई माघ २९ गते बिहान ११ बजे एक समूहले कुटपिट गर्दा घाइते भएका छन् ।
घाइते पत्रकारको अनुहारलगायत शरीरको विभिन्न अङ्गमा चोट लागेको छ । उनको स्वभिमान अस्पताल हरिवनमा उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको पत्रकार टङ्क क्षेत्रीले जानकारी दिए । पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिवनमा माघ २९ गते नै उजुरी दिएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा हरिवन नपा–११ का २० वर्षीय इबरान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले बताए । कुटपिट घटनाको कारण खुलेको छैन र घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।