INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्व प्रधानाध्यापकले प्रधानाध्यापकलाई कुटपिट गरेको आरोप

गौशाला नपा–१२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका प्रधानाध्यापक देवीप्रसाद घिमिरेलाई कुटपिट गरेको विरोधमा सोही विद्यालयका शिक्षकहरूले दोषीलाई कारवाहीको माग गर्दै माघ २० गते विद्यालय बन्द गरी विरोध जनाएका छन् ।

माघ १९ गते शनिबार विद्यालयका प्रधानाध्यापक घिमिरेलाई त्यही विद्यालयका पूर्व प्रधानाध्यापक राजकिशोर सिंह र देवनारायण महतोले हातपात गरेको पीडित पक्षको आरोप छ ।

उक्त घटनाको न्यायोचित ढङ्गले छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै शिक्षकहरूले विद्यालय बन्द गराए ।

विद्यालयका शिक्षक महाविरसिंह कुशवाहाका अनुसार विद्यालयमा पुरानो हरहिसाब बरबुझारथको सन्दर्भमा पूर्व प्रधानाध्यापक राजकिशोर सिंह र देवनारायण महतोको वर्तमान प्रधानाध्यापक घिमिरेसँग कुरा नमिल्दा विवाद बढेपछि सिंहले प्रअ घिमिरे माथि हातपात गरेका थिए । त्यतिबेला महतोले पनि सिंहलाई साथ दिएका थिए ।

घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको शिक्षक कुशवाहाले बताए ।

पूर्व प्रअ सिंह र महतोलाई घटना पश्चात प्रहरीले गिरफ्तार गरेको थियो । घटना भए लगतै प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको र माघ २० गते साँझ ५ बुँदे सहमति भएपछि दुवैलाई छाडिएको छ ।

यस सम्बन्धमा नेपाल शिक्षक महासङ्घ गौशाला नगरपालिकाका संयोजक नकुल उप्रेतीले दिएको जानकारी अनुसार राजकिशोर सिंहले माघ २१ गते विद्यालयमा सबैको सामुन्ने माफी माग्ने, शिक्षक लक्ष्मणकुमार गौतमले सञ्चयकोषको रकम बुझाएको सम्पूर्ण कागजात पेश गर्ने वा रकम नबुझाएको भए फागुन १ गतेसम्म रकम दाखिला गर्ने, फागुन १ गतेभित्र सम्पूर्ण खर्च विवरण पेश गर्ने, देवीप्रसाद घिमिरेको व्यक्तिगत बचततर्फको रकम देवनारायण महतोले तुरुन्त बुझाउनेलगायतका सहमति भएको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य महेश कुमार सिंहले घटनाको सम्बन्धमा आपूmहरूले २० गते मात्रै थाहा पाएकोले विद्यालय व्यवस्थापन समितिको बैठक बसेर आवश्यक कदम उठाइने बताए ।

अन्य

भिडियो