कर्जन्हा नगरपालिका–१ की १७ वर्षीया अविना कुवर बैधको हत्या गरेको आरोपमा धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका–३ का ४५ वर्षीय रामबालक चौधरीलाई ०८२ पुस २१ गते जिल्ला प्रहरी कार्यालय सिरहाले गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्नतराम शर्माका अनुसार घटना पछि प्रदेश तथा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मिर्चैया र केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाको सूक्ष्म अनुसन्धान गरी आरोपितलाई गिरफ्तार गरेको जानकारी दिनु भयो । अनुसन्धानको क्रममा आरोपितले बालिकासँग प्रेम गरेको र ०८२ मङ्सिर २१ गते आफूले फोन गरी बालिकालाई बोलाएर कमला नहर किनारमा लगी शारीरिक सम्पर्क गरे पश्चात विवाहको लागि दवाव दिएकोले झगडा हुँदा अविनाको घाँटी थिची, ढुङ्गाले हानेर हत्या गरे । हत्या गरिसकेपछि नहरछेउमा लगेर शव फालेको आरोपितले बयान दिएको एसपी शर्माले बताउनु भयो ।
बालिकाको शव ०८२ मङ्सिर २२ गते कर्जन्हा नगरपालिका–२ स्थित नहरको झाडीमा विभत्वस रुपमा अर्धनग्न अवस्थामा भेटिएको थियो । शवको पोष्टमार्टम धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिर २३ गते भयो ।
इन्सेक र मुक्ति नेपालले संयुक्त रुपमा ०८२ मङ्सिर २५ गते घटनाको स्थलगत अनुगमन गरेको इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले बताउनु भयो ।