INSEC Online

📅 २०८३ जेष्ठ २१

एकल महिलासहित तीन जनाको हत्या घटनाका आरोपित गिरफ्तार

सिद्धिचरण नगरपालिका–४ चार्खुकी ४९ वर्षीया एकल महिला रत्नकुमारी कटुवालको हत्यासहित तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ ।

रत्नकुमारी कटुवालको ०८२ असोज २७ गते शङ्कास्पद अवस्थामा घरमै शव फेला परेको घटनासहित अरू दुई जनाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको हो ।

सामूहिक रूपमा रत्नकुमारीको बञ्चरो प्रहार गरी हत्या गरेर गरगहना लुटेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चार जनालाई गिरफ्तार गरी पुस २० गते सार्वजनिक गरेको हो ।

रत्नकुमारीको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले चिशंखुगढी गाउँपालिका–३ का २८ वर्षीय मिलन भनिने  सङ्गम राई, चिशंखुगढी गाउँपालिका–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र चिशंखुगढी गाउँपालिका–८ का ३२ वर्षीय दोर्जे भनिने अशोक भुजेललाई प्रहरीले पुस २० गते सार्वजनिक गरेको हो ।

चिशंखुगढी गाउँपालिका–४ का ३० वर्षीय विनोद राईलाई ०८२ पुस १८ गते दियालेबाट र अरू तीन जनालाई प्रहरीले पुस १९ गते रातामाटेबाट गिरफ्तार गरी पुस २० गते सार्वजनिक गरेको हो ।

घरमा एक्लै बस्दै आएकी रत्नीकुमारी कटुवालको शव फेलापरेपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले मुचुल्का उठाएर असोज २८ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरेको थियो । सोही समूहले ०८२ पुस १५ गते राति चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाँउ स्थित शोभितमान किराना पसल संञ्चालन गरी बसेका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीयम पत्नी रत्नमाया थापा मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

दुवै जनाको कोदालो तथा अन्य धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या भएको थियो । हत्यापछि गोठमा लगेर स्याउलाले छोपेर, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख रुपियाँ नगद तथा दुई तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरेर सो समूह फरार भएको थियो ।

जिल्लामा श्रृखलाबद्ध हत्याका घटनापछि केन्द्रीय अनुसन्धान व्यूरो, लाजिम्पाट, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान गरी घटनामा संलग्नहरूलाई गिरफ्तारपछि सार्वजनिक गरेको हो ।

सरस्वती बानिया

अन्य

भिडियो